‘सरकार शून्य समय किन सुन्दैन ?’

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयका बारेमा सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनलाई जानकारी गराउनुपर्ने नियमावली कार्यान्वयन गर्न विपक्षी सांसदले माग गरेका छन् ।  

बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयका बारेमा सरकार गम्भीर नभएको भन्दै मुख्य विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि सभामुखको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको बैठकको शून्य समयमा सांसद थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावलीमा भए पनि मन्त्रीहरूले बेवास्ता गरेको भन्दै सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।

विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन नभएका कारण नियमावलीमै व्यवस्था गरिएको उल्लेख गर्दै उनले सभामुख महरालाई प्रश्न गरे, ‘नियमको कार्यान्वयन किन नभएको ?’ सांसदले उठाएका प्रश्नको जवाफ नपाउने हो भने संसद् बैठकमा बोल्नुको अर्थ नहुने उनको भनाइ थियो । उनले सरकारले संसद्लाई नटेरेको आरोप पनि लगाए । 

आइतबारको बैठकको शून्य समयमा बोल्ने अन्य सांसदहरूले पनि विभिन्न समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।