राजा भूमिका खोज्दैछन् !

गणतन्त्र घोषणापछि नागार्जुन थन्क्याइका राजा ज्ञानेन्द्र लामो समयसम्म चुपचाप रहे । अनेकौं फत्तुरहरू लगाइए जो हालसम्म अप्रमाणितै रहे । तर, फत्तुर लगाइएका राजाले आफ्नो कुरा पनि भनेनन्, आफ्नो प्रतिरक्षा पनि गरेनन् । जे जस्तो भए पनि जनता जनार्दन अर्थात विष्णु हुन् भनेर आपूmलाई जनताको विवेकको सहारामा छोडिदिए । राजपरम्परामा राजसंस्थाको निमित्त बोलिदिने राजा हुँदैनन् अरू नै हुन्छन् । 

तर, २०३२ देखि नै बेलायतको जस्तो राजसंस्था बनाउने राजा वीरेन्द्रको प्रयत्नले त्यहा“ आस्थाले भन्दा अवसरको निमित्त झुम्मिनेहरूको घेरा थियो । बरू सर्वोच्च अदालतले अपराधी ठह¥याएर सजाय तोकेकाहरू आफ्नो टोलीबाट आपूmलाई सम्मान गराइरहे । सर्वोच्च अदालतको न्याय आफ्नो पक्षमा नभएपछि त्यसलाई न्याय नै होइन भन्ने बल दिन राजनीतिक मान्यता प्राप्त दलका कार्यकर्ता थिए ।

पारिवारिक त्रासदीबाट स्तब्ध थपमा शासनसत्ताको लोभ गरेको आरोप खेपे । राजगद्दी उनको त्यो लोभ थियो वा अप्रिय कर्तव्य पालन त्यो गद्दीले बोल्न हुँदैन थियो । राजसंस्थाप्रति आस्थावान हुनुपर्ने जमातमा पक्का अस्थावान नै होलान् भन्ने सोच आएको हुनुपर्छ । त्यसैलाई भरोसा गरेर काम गर्दै गए तर अवसरको निमित्त जम्मा भएकाले बाङ्गो रूखलाई सोझो भनिरहे । राजगद्दीका स्वाभाविक उम्मेदवार नभएकाले उनले राजकाज जानेनन् । उनका छोरा पारस युवराज हुने रोलक्रममा थिएनन् त्यसैले राजोचित जिम्मेवार व्यवहारभन्दा एक उन्मुक्त धनी परिवारको युवाको जीवनशैली थियो । जतिबेला राजसंस्थाको वरिपरि आस्थावान होइन अवसरवादी चाकरीवाज रहेछन् भन्ने थाहा भयो त्यो बेलासम्म ढिलो भइसकेको थियो । 

अन्तिम प्रयत्नस्वरूप बुबाको पालाका आस्थावान तर राजनीतिक जीवन छोडेका कीर्तिनिधि विष्ट र मुलुक नै छोडेका तुलसी गिरी ल्याउनु प¥यो । जोसँग अब केवल भावना थियो, अनुभव थियो तर काम गर्ने तागत बचेको थिएन । काम गर्न आवश्यक पर्ने जनसम्पर्क थिएन, सोच परिमार्जन गरेका थिएनन् किनभने उनीहरू एक प्रकारले निवृत्त भएका थिए । यी दुई समयानुकूल थिएनन् र तिनको साथले त्यो खाल्टो पार गर्न सकिँदैन थियो र सकेनन् पनि । 

जब भुँमरीमा फसे त्यो बेलामा उनीसँग यी दुई र केही कर्मचारीमात्र रहे । अनि भन्नु प¥यो ‘मेरातर्पmबाट बोलिदिने कोही भएनन्’ । यो कोणबाट पनि नसोची लगाएको फत्तुर अपूरो हुन्छ, प्रतिमत आएन भन्दैमा प्रतिमत नै छैन भन्ने सोचिँदैन । निर्णयमा पुग्नुभन्दा पहिले सबै कोणबाट विचार गर्नुपर्छ, त्यसो नगर्नु पूर्वाग्रही हुन्छ ।

आफ्नो प्रतिरक्षा गर्नु हरेक प्राणीको कर्तव्य हो तर उनले त्यो कर्तव्य पनि पूरा गरेनन् । पूर्वाग्रहीलाई निर्वाध पूर्वाग्रह पैmलाउन दिए । जब पूर्वाग्रही प्रचारले सीमा नाघ्यो जनताबाटै उनका समर्थक पैदा हुन थाले । उनी चाहिँ बरू एक प्रौढले गर्नुपर्ने पूजा अर्चना, देवस्थल दर्शन गरे । त्यसलाई पनि समर्थक र विरोधी दुवैले राजसंस्थाको पुनस्र्थापनाको प्रयत्न देखे । 

उनलाई राजकाज र संघर्ष सिकाउन एकथरि लागे । अर्काथरि भने थरहरि भएर धम्क्याउन लागे, जेल हाल्ने, सजाय गर्ने आदि अनेकथरि डर देखाउन थाले । जनतामा राजसंस्थाप्रतिको आस्थाको झिल्को बा“की थियो त्यसले हावा पाउन थाल्यो । उनले गर्ने दर्शन तीर्थाटनमा जनता झुम्मिन थाले । वर्तमान संविधानअनुसार उनी एक नागरिकले गर्ने सबै गतिविधि गर्न सक्छन् । 

तैपनि उनी धार्मिकबाहेक सामाजिक उपस्थिति पनि टार्दैछन् भने राजनीतिक गतिविधि त टाढाको कुरा भयो । यो राजसंस्थाको निमित्त र विरोधमा हुने सम्भावित संघर्ष रोक्न निमित्त हुनसक्छ । यो कुरामा अपवाद भनेको ‘हिमानी ट्रष्ट’मार्पmत गरिने विपत् सहायतासम्बन्धी काम छ । त्यो पनि अपवाद नै नहोला, किनभने मानवीय सहायता पनि धर्मकार्यकै भाग हुन्छ । फाट्फुट् सञ्चारमाध्यहरूमा आउने कुराले उनी राष्ट्रको अवस्थाप्रति चिन्तित भएको देखाउँछ । 

जनताले वा जनताको प्रतिनिधिहरूले भूमिकाविहीन बनाएको र नयाँ भूमिका नतोकेकाले उनले व्यक्त गर्नसक्ने केवल चिन्ता नै हो । लामो समयसम्म पनि आफ्नो कुरा आफैँमा गुम्स्याएर राख्नुको कारण के हो त्यो त उनै जानुन् तर यो ठीक भने थिएन । आफ्नो कुरा आफैँमा गुम्स्याएर सबैमा भ्रम पर्न दिनु अनुचित हो तर उनको स्थानबाट सोच्दा सबैभन्दा उचित र सुरक्षित बाटो नै यही देखिन्छ ।

अब राजाको त्यो सोचमा परिवर्तन आएको देखिन्छ । उनले विरोधी नै नभने पनि समर्थक पनि भन्न नमिल्ने व्यक्तित्वहरूसँग भेटघाटको क्रम सुरु गरेका छन् । चाहे जुन रूपमा होस् भेटघाट हमेशा सकारात्मक हुन्छ । नीतिशास्त्रले भन्छ ‘मूर्ख मित्रभन्दा बुद्धिमान शत्रु राम्रो’ । विगतका बाह्र वर्षभन्दा धेरै समय आफ्ना भएर भेट गर्नेहरूको भेटले नकारात्मक भएकाहरूलाई झन् नकरात्मक बनायो । 

त्यस्ता भेट पाउनेहरूले बाहिर निस्केर भन्ने गरेको कुरामध्ये राजसंस्था अब छिटै फर्कँदैछ भन्ने नै धेरै पाइएको छ । यसले आस्थावानहरूमा आशा अझ भनौं झुटो आशा जगायो भने विरोधीहरूलाई अझ उग्र बनायो । उग्र भएर उनीहरूले थप लाञ्छना लगाउँदै गए । अँध्यारो कुनाबाट षड्यन्त्र गरेको, धमिलो पानीमा माछा मारेको आदि कुराले पाखा पारिएपछि पनि राजालाई घोची रहृयो । 

भूमिकाविहीन राजासँग बा“की एकै भूमिका छ, त्यो हो राष्ट्रको अवस्थामा चिन्तित हुने । आफ्नो कुनै योजना तथा इच्छा नभएकाले जनताले दिएको भूमिकामा राष्ट्रसेवा गर्ने कुरा उनले हरेक पल्ट भने । उनलाई जाति विशेषसँग जोडियो, धर्म विशेषसँग जोडियो । चारजात छत्तीस वर्णको पूmलबारी घोषणा गरेर राजा सबैको साझा, राष्ट्र सबैको घर भन्ने मान्यता भताभुंग गरियो । यो सत्य होइन भनेर उनले धेरै पल्ट भने तर सुन्नेले त्यसलाई आफ्नै अर्थ लगाइदिए । यो सबै प्रत्यक्ष सम्वादको अनुपस्थितिको कारणले भएको थियो । राजसंस्थालगायत सबै कुराभन्दा ठूलो राष्ट्र हो । राष्ट्रको मोलमा न राजसंस्था किन्न सकिन्छ न धर्म, यो विचार उनले प्रकट गरिरहे । तर, राजावादी भनिनेहरूले राष्ट्रभन्दा हिन्दूत्वलाई प्रधानता दिइरहे । 

समर्थक तथा विरोधी दुवैमा भएको अवधारणासँग निरपेक्ष भएर आफ्नो कुरा भन्ने क्रममा राजाले अन्तर्वार्ताहरू पनि दिए । विभिन्न अवसर प्रयोग गरेर सन्देशमार्पmत सबैभन्दा ठूलो राष्ट्र हो भन्ने प्रष्ट्याउने प्रयत्न गरिरहे । आपूm जनतालाई जनार्दन अर्थात् विष्णु मान्ने र त्यसको आदर्श मान्ने कुरा लगातार गरे । प्रत्यक्ष सम्वाद नभएकाले यसको अपेक्षित असर परेन । मान्छेहरूले पाखा नै लगाइएका भए पनि राजा र नेताको बीचको फरक जानेनन् वा जान्न चाहेनन् । नेता जस्तै राजालाई दल विशेषको, स्थान विशेषको, सम्प्रदाय विशेषको मानिरहे । नेतालाई दलको, सत्ताको, शक्तिको आकर्षण हुन्छ तर राजा जुन रूपमा रहे पनि उनलाई राष्ट्रको, जनताको नै चिन्ता हुन्छ । 

केहीले राजाले अब सार्वजनिक भेटघाट कुराकानी सुरु गर्नुपर्छ, समर्थक र विरोधीको भेद राख्नु हुँदैन भन्ने कुरा वर्षांैदेखि भनिरहे । चाहे राजाको रूपमा होस् वा राष्ट्रभक्तको रूपमा यो काम राष्ट्रहितमा हुनेछ भन्ने सुझाब मान्न सम्भवतः कुनै अन्य व्यवधान थियो होला । तर, अहिले त्यो व्यवधान हटेको छनक आएको छ । खरो कुरा गर्ने डा. सुरेन्द्र केसीलाई राजाले भेटेका छन् । 

आपूmलाई गणतन्त्रको पक्षधर मान्ने र राजाले शासन गर्न हु“दैन भन्ने मान्यता राख्ने कानुनची डा. सुरेन्द्र भण्डारीलाई पनि भेटे । आपूmलाई राजसंस्थाको पक्षधर भन्ने डा. प्रेमसिंह बस्नेत पनि भेटिनेमा सामेल छन् । अहिलेसम्म भेटिएका यी कुनै पनि राजनीतिक दलसम्बद्ध भएर राजनीति पेशा गर्ने व्यक्ति होइनन् । कुनै न कुनै दलप्रति आस्था राख्लान् । भेटघाटहरू त सम्भव भए राजनीतिक नेताहरूसँग पनि हुनुपर्छ ।

यी भेटहरूले भूमिकाविहीन राजाको मनको कुरा जनताले जान्न पाए । यो कुरामा आफ्ना भेटको विवरण दिँदा उनीहरूले छलछाम गरेका छैनन् । यो भेटले उनीहरूको गणतन्त्र वा राजसंस्थाप्रतिको सोच हल्लाएको पनि छैन । तर, एकोहोरो आक्षेप भोग्नु परेको पाखा लगाइएका राजाको भनाइ पनि बाहिर आएको छ । राजाले आफ्नो कोही वादी नभएको र सम्पूर्ण नेपाली नै आफ्नो भएको कुरा सफतापूर्वक बाहिर ल्याएका छन् । 

देशको भलाइँ, स्थिरताका र रक्षाको निमित्त जनताले दिएको जुन भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरो नै भेट गर्नेहरूले बुझेका छन् । त्यसअनुसार यस्तो हुनु ठीक हुन्छ भनेर प्रत्येकले अलगअलग धारणा पनि ल्याएका छन् । प्रमुख कुरा के भने आवश्यक परेर जनताले भनेमा उनी जस्तोसुकै अप्रिय कर्तव्य पनि निर्वाह गर्न तयार छन् भन्ने कुरो आएको छ । जे जनताले चाहेर साथ दिन्छन् त्योबाहेक उनले अरू केही नगर्ने रहेछन् भन्ने धारणा राजालाई कर्तव्य सिकाउन भेट गर्नेबाहेक अन्य सबै भेट गर्नेहरूले समान रूपले बनाएका छन् ।

(कार्की विराटनगरबाट लेख्छन् । )