काठमाडौं । विनाशकारी भूकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर निर्माणाधीन अवस्थामा रहेका छन् ।
पुनर्निर्माण सम्पन्न र निर्माणाधीनसहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय पुनिर्माण प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार हालसम्म ८३ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ रहेको छ ।
प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालु आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने र गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुनसक्ने बताए । प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौतामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझेका छन् ।
तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ रहेको छ । आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६७ हजार ८३४ घर रहेका छन् भने दोस्रोमा नुवाकोटमा ५२ हजार ६१३ घर र तेस्रोमा धादिङमा ४८ हजार ४५४ चौथोमा दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भएका छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने क्रममा छन् । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।
त्यस्तै काभ्रेमा ३० हजार ८ सय ७७, रामेछापमा ३० हजार ७ सय ११, ओखलढुंगामा १५ हजार ७ सय ७२ मकवानपुरमा १३ हजार ७०, सिन्धुलीमा १२ हजार ५ सय ८२ काठमाडौंमा ११ हजार ५ सय ४२ घर पुनर्निर्माण भएका छन् ।
त्यसैगरी रसुवामा १० हजार ४ सय १८, तनहुँमा १० हजार ५ सय २५, भक्तपुरमा ८ हजार ४ सय २०, ललितपुरमा ४ हजार २ सय १६, लमजुङमा ३ हजार २ सय, चितवनमा २ हजार ९ सय ८२ र खोटाङमा २ हजार ९ सय २८ घर पुननिर्माण भएका छन् । त्यस्तै सोलुखुम्बुमा २ हजार ३ सय २, पाल्पामा १ हजार ४ सय ३५, भोजपुरमा १ हजार २ सय ६८, धनकुटामा १ हजार २ सय ३, बागलुङ ८ सय ८२ स्याङ्जामा ७ सय ७, पर्वतमा ६ सय ७६, नवलपरासीमा ६ सय २०, गुल्मीमा ३ सय २७, कास्की ३ सय २४, म्याग्दीमा २ सय ७१ र अर्घाखाँचीमा ५४ घर पुनर्निर्माण सम्पन्न भएको राष्टिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यसैबीच प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु गरेको छ । त्यस्तै २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने पनि सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार रहेको छ ।



















