उपकुलपति रौनियारलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा. राजकुमार रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐनअनुसार एक करोड २८ लाख बिगो दाबीसहित रौनियारविरुद्ध मुद्दा दायर भएको हो । 

रौनियारले होस्टल र फार्मेसी  भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न  मितिमा रनिङ बिलको भुक्तानी दिँदा पटकपटक कमिसनबापत घुस लिएको अख्तियारमा उजुरी परेको थियो ।

उक्त भवन  निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकेदार कम्पनीका झालाई बोलाइ ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि सोही प्रतिष्ठानमा हाउस अफिसरको रूपमा कार्यरत आफ्नै भतिज डा. रामहरिमार्फत उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस–रिसवत लिएको  पुष्टि  भएको अख्तियारले जनाएको छ । रौनियार नेपाल सरकारको विशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ । भतिजा डा. रामहरिको हकमा अख्तियारले रिसवत लिने कार्यमा मतियार भई कार्य गरेकोले आठ लाख बराबरको बिगो कायम गरी असुल हुनुपर्ने माग गरेको छ ।