अरुण–३ आयोजनाको काम २२ प्रतिशत

काठमाडौं । भारत सरकारको लगानीमा निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको हालसम्म २२ प्रतिशतमात्र काम भएको छ । टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको हो । 

भारत सरकारको स्वामित्वको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतवार उर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा यस्तो जानकारी दिएका हुन् । भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमाभित्रै परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । 

उनले नयाँ कार्यकारी अधिकृतलाई आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको जानकारीसमेत गराए । उनले भने ‘सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौं । तपाईहरूले समयसीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ ।’ एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण–३ जलविद्युत् परियोजना समयसिमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सरकारका तर्फबाट सहयोग प्राप्त भइरहेको र स्थानीय जनता पनि परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी गराए । 

 भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको बारेमा चासो व्यक्त गरेकोमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगति बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । उनले नेपालमा पछिल्लो समय लगानीका लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीका लागि इच्छुक रहेको मन्त्री पुनलाई जानकारी गराएका थिए । 

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित कुल विद्युत्को करिब २२ प्रतिशत नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको हो ।