ग्लोबल टी–२० क्यानडा : सन्दीप र सोमपालको खराब सुरुवात

काठमाडौं । ग्लोबल टी–२० क्यानडा क्रिकेट लिगको आआफ्नो पहिलो खेलमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र सोमपाल कामीले खराब सुरुवात गरेका छन् । शनिबार दुवै खेलाडीले यस सिजनको पहिलो खेल खेलेका थिए ।

नेपाली लेग स्पिनर सन्दीपले आफ्नो टोली टोरन्टो नेशनल्सबाट ब्रान्प्टन वुल्भ्सविरुद्ध शनिबार पहिलो खेल खेलेका थिए । जसमा ४ ओभर बलिङ गरेका सन्दीपले ४४ रन खर्चिँदै महँगा भए । उनले एक विकेटसमेत लिए ।

टोरन्टोका लागि पाँचांै ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर बलिङमा आएका सन्दीपले २४ रन खर्चे । जर्ज मुन्सेले सन्दीपको पहिलो ओभरमा चीन चौका र दुई छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा उत्कृष्ट पुनरागमन गर्दै सन्दीपले १ विकेट लिएर ३ रनमात्रै खर्चेका थिए । सो ओभरमा सन्दीपले कोलिन मुनरो मिचेल मक्लिननघनको हातबाट क्याच गराएका थिए ।

यस्तै तेस्रो ओभरमा ७ रन खर्चिएका सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । टोलीको चौधौं ओभरमा अन्तिम ओभर लिएर सन्दीपको चौथो बलमा नितेश कुमार र छैटौं बलमा शाहिद अफ्रिदीले चौका प्रहार गरेका थिए ।

सन्दीपको खराब प्रदर्शनसँगै उनको टोली टोरन्टो पनि ११ रनले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ब्राम्प्टनले दिएको २ सय २३ रनको फराकिलो लक्ष्य पछ्याएको टोरन्टो २ सय ११ रनमा समेटिएको थियो ।

टोरन्टोका कप्तान युवराज सिंहले २२ बलमा ३ चौका र ५ छक्कासहित ५१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन् । यस्तै उसका ब्रेन्डन मक्कुलमले ३६ तथा हेनरिक क्लासेनले ३५ रनको योगदान दिए ।

त्यसअघि जर्ज मुन्सीले ३६ बलमा ६ चौका र ५ छक्कासहित ६६ रन जोडेपछि वल्भ्सले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । जसमा बाबर हायातले १८ बलमा नटआउट ४८ रनको योगदान दिए । टोरन्टो ४ खेलमा १ जित र ३ हारसहित २ अंक बोकेर अंक तालिकाको पाँचौं स्थानमा छ । वल्भ्स लगातार चौथो जितसँगै ८ अंक लिएर शीर्षस्थानमा छ ।

सोमपालको डेब्यू

यस्तै शनिबार राति नै भएको अर्को खेलमा अर्का नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेग हक्स पनि इडमोन्टन रोयल्ससँग ८ विकेटले पराजित भएको छ । यसै खेलबाट प्रतियोगितामा डेब्यु गरेका सोमपालको प्रदर्शनसमेत सम्झन लायक रहेन् ।

ब्याटिङ र बलिङ दुवैतर्फ अवसर पाएपनि सोमपालले त्यसको सदुपयोग गर्न सकेनन् । ब्याटिङतर्फ ५ बल खेल्दै १ रन जोडेर सोमपाल नटआउट रहे भने बलिङतर्फ २ ओभर गरेका उनले ३३ रनखर्चँदै महँगा भए । टोलीको दशौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर बलिङमा आएका सोमपालले १५ रन खर्चे । दोस्रो बलमा उनलाई पाकिस्तानी क्रिकेटर मोहम्मद हफिजले छक्का प्रहार गरेका थिए ।

यस्तै १६औं ओभरमा सोमपाल व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका थिए । उक्त ओभरमा उनले दुई छक्का र एक चौकासहित १८ रन खर्चेपछि टोलीले पुनः उनलाई बलिङमा ल्याएन् । सोमपाललाई विक्सले यस सिजनमा ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

सोमपालको खराब प्रदर्शनसँगै टोलीले पनि जित हात पार्न सकेन् । हक्सले दिएको १ सय ९६ रनको लक्ष्य रोयल्सले १४ बल अघि नै भेटाएको थियो । जित हात पारेपछि ५ खेलमा एकमा मात्रै जितेको रोयल्स २ अंकसहित पुछारमा छ भने हक्स त्यतिनै खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा छ ।