एजेन्सी := पोर्चुगलले अनुभवी प्रशिक्षक जर्ज जेसुसलाई राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नियुक्तिपछि जेसुसले भेट्रान सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेल्नका लागि उपलब्ध र छनोटयोग्य अवस्थामा रहेसम्म राष्ट्रिय टोलीमा बोलाउने बताएका छन्।
सन् २०२६ को विश्वकपको अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै पोर्चुगल बाहिरिएपछि तत्कालीन प्रशिक्षक रोबर्टो मार्टिनेजको कार्यकाल समाप्त भएको थियो। रोनाल्डोले उक्त विश्वकप आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। यद्यपि, उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहने वा नखेल्ने विषयमा अझै अन्तिम निर्णय गरेका छैनन्।
शुक्रबार आफ्नो औपचारिक परिचय कार्यक्रममा ७१ वर्षीय जेसुसले भने, “जबसम्म उनी खेलिरहेका छन् र राष्ट्रिय टोलीमा छनोट हुन सक्ने अवस्थामा छन्, तबसम्म राष्ट्रिय टोलीका लागि उपयुक्त ठानेको अवस्थामा म उनलाई बोलाउनेछु।” जेसुसले रोनाल्डोसँग अहिलेसम्म राष्ट्रिय टोलीको भविष्यबारे कुराकानी नभएको बताए। तर चाँडै नै उनीसँग प्रत्यक्ष छलफल गर्ने जानकारी दिए।
“मैले अहिलेसम्म क्रिससँग कुरा गरेको छैन। तर क्रिस राष्ट्रिय टोलीका लागि कहिल्यै समस्या बन्ने छैनन्, न त राष्ट्रिय टोलीका लागि, न मेरो लागि,” जेसुसले भने। उनले रोनाल्डोलाई पोर्चुगिज फुटबल र राष्ट्रिय टोलीको प्रतीकसमेत बताए। “क्रिस पोर्चुगिज फुटबलका प्रतीक हुन्। उनी राष्ट्रिय टोलीका पनि प्रतीक हुन्। उनको नाम सधैं इतिहासका पानामा रहनेछ,” उनले भने।
जेसुसले रोनाल्डोसँग साउदी क्लब अल–नासरमा काम गरिसकेका छन्। उनले पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोसँग काम गर्न सहज रहेको अनुभव सुनाए। “गत वर्ष उनीसँग काम गर्न पाउँदा मलाई निकै खुसी लागेको थियो। उनीसँग काम गर्न सजिलो छ,” जेसुसले भने, “अब हामी दुईबीच उनको करियरको भविष्यबारे कुराकानी हुनेछ।”
जेसुसका अनुसार रोनाल्डोले आफ्नो खेल जीवन अल–नासरमै समाप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। “मलाई थाहा छ, उनी अल–नासरमा खेलिरहन चाहन्छन्। मैले उनीसँग एक वर्ष काम गरेको छु। उनले सधैं मलाई ‘म आफ्नो करियर अल–नासरमै अन्त्य गर्नेछु’ भन्ने कुरा गरेका थिए,” जेसुसले बताए।
जेसुसले अल–नासरमा रोनाल्डोलाई प्रशिक्षण दिएका थिए र क्लबलाई साउदी प्रो लिगको उपाधि दिलाएपछि मे महिनामा क्लब छाडेका थिए। पोर्चुगलले जेसुससँग सन् २०३० को विश्वकपसम्मका लागि सम्झौता गरेको छ। सन् २०३० को विश्वकप पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन्।




















