क्वालालम्पुर (मलेसिया):= मलेसियाले वैदेशिक रोजगार क्षेत्रमा थप नयाँ कामदारहरू भित्र्याउनु अघि आफ्नो विद्यमान श्रम आप्रवासन प्रणालीमा रहेका गम्भीर कमजोरीहरूलाई तत्काल सुधार्नुपर्ने माग उठेको छ। मलेसियाली मानवअधिकारवादी संस्था ‘तेनागानिटा’ की कार्यकारी निर्देशक ग्लोरेन ए. दासले सरकारले नयाँ कामदार ल्याउने होडबाजी गर्नुभन्दा पहिले देशभित्रको श्रम बजार र कानुनी संयन्त्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको हो।
मानवअधिकारकर्मी दासका अनुसार मलेसियामा विदेशी कामदारहरूको अधिकार सुरक्षित गर्न र कार्यस्थलमा हुने शोषण रोक्नका लागि मुख्य गरी रोजगारदाताहरूलाई बढी जिम्मेवार बनाउन आवश्यक छ। यसका साथै कामदार भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने, श्रम कानुन उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिनुपर्ने र रोजगारदाताहरू आफ्ना श्रमिकको सुरक्षा तथा उचित सेवा-सुविधाप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने उहाँको भनाइ छ।
मलेसियामा नेपाली लगायत लाखौँको संख्यामा वैदेशिक रोजगारीमा रहेका विदेशी कामदारहरू कार्यरत छन्। स्थानीय मानवअधिकारकर्मीहरूको यो सुझाव र दबाबले मलेसियाको श्रम बजारलाई अझ सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुका साथै नेपाली श्रमिकहरूको हकहित रक्षाका लागि पनि निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
समाचार स्रोत – स्थानीय मीडिया




















