‘राजनीतिक पार्टी र विचार फरक होस्, तर नेपालीबीच मन नफाटोस्’: सभापति पङ्गेनी।

क्वालालम्पुर:= मलेसियामा रोजगारी , ब्यापार ब्यावसायसंगै बसोबास गर्दै राजनीति तथा सामाजिक गतिविधिमा सक्रिय नेपालीहरूबीच आपसी सम्मान, सहिष्णुता र एकता कायम गर्न नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले आग्रह गरेका छन्।

पंगेनीले सामाजिक सञ्जालमार्फत अपिल गर्दै राजनीतिक विचार र सिद्धान्त फरक भए पनि एक–अर्कालाई शत्रुको रूपमा नहेर्न आग्रह गरेका हुन्। उनका अनुसार प्रत्येक व्यक्तिलाई आफूले चाहेको राजनीतिक विचार, सिद्धान्त र दल रोज्ने लोकतान्त्रिक स्वतन्त्रता भए पनि विचार फरक भएकै कारण व्यक्तिगत रूपमा आरोप–प्रत्यारोप र अपमान गर्ने संस्कार उचित होइन।

उनले मलेसियामा रहेका नेपालीहरूले सामाजिक सञ्जाललाई विवाद र विभाजनको माध्यम नभई सकारात्मक विचार, सामाजिक एकता र नेपाली समुदायको हितका लागि प्रयोग गर्नुपर्ने बताएका छन्।

तपाईंको परिचय तपाईंको शब्दले होइन, तपाईंको व्यवहारले देखाउँछ,” पंगेनीले उल्लेख गर्दै सामाजिक सञ्जालमा लेख्दा वा बोल्दा आफ्नो अभिव्यक्तिले परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायमा पार्ने प्रभावबारे सोच्नुपर्नेमा जोड दिएका छन्।

पंगेनीले विगतका व्यक्तिगत तथा राजनीतिक विवादलाई दोहोर्‍याएर एक–अर्कालाई दोष लगाउनुभन्दा मलेसियामा नेपाली श्रमिक तथा समुदायले भोगिरहेका समस्याको समाधानका लागि सहकार्य गर्नुपर्ने बताएका छन्। श्रमिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, आवश्यक छलफल गर्ने र समाधानका लागि सामूहिक पहल गर्नुपर्ने उनको भनाइ छ।

राजनीतिक विषयमा विचार फरक भए खुला बहस गर्न सकिने तर बहसका क्रममा मर्यादा, सभ्यता र आपसी सम्मान कायम राख्नुपर्ने उनले बताएका छन्। “हामी यहाँ नेपालको राजनीतिक झगडा बढाउन होइन, नेपालीको सम्मान बढाउन पनि जिम्मेवार बन्नुपर्छ,” पंगेनीले भनेका छन्।

उनले मलेसियामा रहेका नेपालीहरू परदेशमा भएकाले यहाँको प्रत्येक व्यवहारले नेपाल र नेपालीको परिचय झल्काउने भन्दै सबैलाई सकारात्मक सोच, सकारात्मक अभिव्यक्ति र सकारात्मक कामतर्फ अघि बढ्न आह्वान गरेका छन्।