क्वालालम्पुर (मलेसिया):= मलेसियामा व्यावसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू आबद्ध क्लबले विदेशी भूमिमा ऐतिहासिक सफलता हात पारेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण सदस्यहरू—हिरा कुमारी भुजेल, अनिता बस्नेत र निशा थोकर आबद्ध मलेसियाको प्रतिष्ठित रेड इगल्स सकर क्लब ‘बी’ (RESC) पेनाङ प्रि-SUKMA महिला फुटबल कार्निभल २०२६ को च्याम्पियन बनेको छ।
प्रतियोगिता अवधिभर उत्कृष्ट र आक्रामक खेल प्रदर्शन गर्दै रेड इगल्सले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।नेपाली राष्ट्रिय महिला फुटबल टोलीका यी स्टार खेलाडीहरू मलेसियाको शीर्ष श्रेणीको महिला फुटबल लिग—लिगा वनिता नासियोनल (LWN) खेल्नका लागि केही समयअघि मात्र मलेसिया पुगेका थिए।
क्लबले उनीहरूलाई ‘इम्पोर्ट प्लेयर’ (विदेशी खेलाडी) को रूपमा अनुबन्ध गरेलगत्तै टोलीले यो ठूलो सफलता प्राप्त गरेको हो। मैदानमा नेपाली खेलाडीहरूको उच्च समन्वय, प्राविधिक कौशल र अनुभव टोलीलाई च्याम्पियन बनाउन निकै निर्णायक सावित भयो।
यस कार्निभलमा कडा प्रतिस्पर्धाका बीच आयोजक पेनाङ एफसी (Penang SUKMA Women’s Team) ले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। पेनाङ एफसीले २ जित, १ बराबरी र १ हारको नतिजासहित उपविजेताको उपाधि प्राप्त गर्दा रेड इगल्स शीर्ष स्थानमा रहँदै विजेता बन्यो।




















