चौकिटमा अध्यागमनको छापा, ४ नेपालीसहित ८५ विदेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको अध्यागमन कानून कार्यान्वयन अभियानअन्तर्गत क्वालालम्पुरको चाउ किट क्षेत्रमा विशेष छापा मारेको छ। मंगलबार दिउँसो गरिएको उक्त कारबाहीमा ८५ जना विदेशी नागरिक पक्राउ परेका छन्।

क्वालालम्पुर संघीय क्षेत्र अध्यागमन विभाग (JIM WPKL) का ५२ जना अधिकारी सहभागी रहेको टोलीले दिउँसो १२ः१५ बजेदेखि चाउ किट क्षेत्रका विभिन्न स्थानमा लक्षित रूपमा जाँच तथा निरीक्षण गरेको थियो। अध्यागमनका अनुसार विदेशी नागरिकको बाक्लो बसोबास रहेको सूचनाका आधारमा उक्त क्षेत्रलाई कारबाहीका लागि छनोट गरिएको हो।

कारबाहीका क्रममा १७८ जना व्यक्तिको जाँच गरिएको थियो। तीमध्ये १६ देखि ५३ वर्ष उमेर समूहका ८५ जना विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी नियम उल्लंघन गरेको आशंकामा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २४ जना भारतीय, १२ जना बंगलादेशी, ४ जना नेपाली, ३ जना पाकिस्तानी र १ जना म्यानमारका नागरिक रहेका छन्।

अध्यागमन विभागका अनुसार पक्राउ परेकामध्ये केहीसँग वैध परिचयपत्र नभएको, मलेसियामा तोकिएको अवधिभन्दा बढी बसेको, राहदानीसम्बन्धी नियम उल्लंघन गरेको तथा मान्यता नपाएका परिचयपत्र बोकेको जस्ता उल्लंघन भेटिएका छन्। पक्राउ परेका सबै ८५ जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बुकित जलिल अध्यागमन डिपो लगिएको छ। ।

अध्यागमन विभागले राजधानी क्वालालम्पुरमा कागजातविहीन तथा गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकविरुद्धको कारबाहीलाई निरन्तरता दिने जनाएको छ। विभागले देशको सुरक्षा तथा सार्वभौमिकता कायम राख्न अध्यागमन कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। छ।