क्वालालम्पुरको मरडेका गार्डेनमा विश्वकप फाइनल हेर्न ३ लाख दर्शक जुट्ने अपेक्षा।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार राति हुने फिफा विश्वकप फाइनल सामूहिक रूपमा हेर्न करिब ३ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

क्वालालम्पुर प्रहरी प्रमुख कमिश्नर दातुक फदिल मार्सुसका अनुसार मुख्य कार्यक्रम दातारान मर्देका (Dataran Merdeka) मा हुनेछ, जहाँ देशकै सबैभन्दा ठूलो आउटडोर एलईडी स्क्रिन जडान गरिएको छ। कार्यक्रम राति ८ बजेदेखि सुरु भई खेल समाप्त नहुन्जेल अर्थात् सोमबार बिहानसम्म सञ्चालन हुनेछ।

उनले विशेष गरी क्वालालम्पुरवासीलाई दातारान मर्देकामा पुगेर ऐतिहासिक वातावरणमा विश्वकप फाइनलको मजा लिन आग्रह गरेका छन्। आयोजकका अनुसार त्यहाँ राखिएको विशाल स्क्रिन Malaysia Book of Records मा समेत दर्ता गराउने लक्ष्य राखिएको छ।

यसअघि शनिबार आयोजित ‘युनिटी मर्देका रन’ कार्यक्रममा करिब २ हजार जना सहभागी भएका थिए। ५ किलोमिटर दौडसहित सम्पन्न कार्यक्रममा मोटरसाइकल मुख्य पुरस्कार रहेको लक्की ड्र पनि आयोजना गरिएको थियो।

प्रहरी प्रमुख फदिलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने बताए।

विश्वकप फाइनलको सार्वजनिक प्रत्यक्ष प्रसारण क्वालालम्पुरका विभिन्न स्थानमा गरिने भए पनि दातारान मर्देका मुख्य केन्द्र रहने जनाइएको छ।