भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई लोकतन्त्रको रक्षार्थ संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् । शनिबार भक्तपुरको कौशलटारमा आयोजित कार्यक्रममा सभापति देउवाले पार्टीका नेता कार्यकर्ताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएकाले चुनौतीविरुद्ध संघर्षका लागि कांग्रेस तयार रहनुपर्ने उनको भनाइ छ । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
प्रेस स्वतन्त्रताको महŒवपूर्ण जग र नागरिकको महŒवपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको समेत उनको भनाइ थियो । सभापति देउवाले सरकारले संविधान मिचेर जनताका अधिकार खोसे कांग्रेस सडक संघर्षमा जान बाध्य हुने चेतावनीसमेत दिए ।
‘सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुनेछ,’ उनले भने । सभापति देउवाले दुई तिहाइको आडमा कम्युनिस्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाए । ‘प्रधानमन्त्री केपी ओली सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए,’ उनले भने । प्रधानमन्त्री ओलीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको सभापति देउवाको आरोप थियो ।
देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाएको उनको टिप्पणी थियो । पूर्वप्रधानमन्त्री देउवाले सेना, प्रहरी, कर्मचारीलाई व्यावसायिक भएर देश र जनताको सेवामा लाग्न आग्रह पनि गरे ।
‘तपाईंहरू राष्ट्र सेवकहरू हो, तपाईंहरू कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होइन,’ उनले भने, ‘व्यावसायिक भएर देश र जनताको सेवा गर्ने हो । तपाईंहरूलाई नेकपाले तलब खुवाएको होइन, जनताको करबाट तलब खाने तपार्इंहरू जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं ।’
दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता’ नामक पुस्तक विमोचन कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतको उपस्थिति थियो ।




















