काठमाडौं । सरकारले गतिविधिमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एकजना सरकारी कर्मचारीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ । पुर्जीमा कर्मचारीको कार्यालय र पद ‘प्रहरी राष्ट्रिय अनुसन्धान व्युरोका असइ’ लेखिएको छ ।
‘पक्राउ पुर्जी’ मा ‘देश र जनताको हितविरुद्ध नेकपाको नेता कार्यकर्ताको सुराकी, अपहरण ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको’ आरोप लगाइएको छ । ‘देश र जनताको हित विरुद्ध फौजदारी कार्यविधि संहिता’ बमोजिम पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।
दिएको म्यादमा ‘जनअदालत’ मा हाजिर हुन नआए ‘इन्काउन्टर’ गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । ‘पक्राउ पुर्जी’ मा ‘कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नं १ साझा जाने बाटो’ भन्ने ठेगाना, बाबु र श्रीमतीको नाम पनि लेखिएको छ ।
देशभरीबाट प्रहरीले विप्लव समूह आबद्ध कार्यकर्ताहरूलाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला उक्त समूहले अनुसन्धान ब्युरोका एकजना असईविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको हो । ‘कैलाली जनअदालत’ को नाम दिएर जारी भएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसन्धान विभागका एकजना असईलाई २५ दिनभित्र ‘जनअदालत’ मा उपस्थित हुन भनिएको छ ।
शुक्रबार जारी गरिएको ‘पक्राउ पुर्जी’ मा कैलाली जनअदालत प्रमुख विकास नामको हस्ताक्षर छ । उनको हस्ताक्षर सहितको पुर्जी ती अनुसन्धान अधिकारीको घर आसपासका सार्वजनिक स्थानमा टाँसिएको जनाइएको छ ।
अनुसन्धान विभागमा असई पदमा कार्यरत ती कर्मचारीलाई ‘बाटोको म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जीबमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनुहोला’, उक्त पुर्जीमा लेखिएको छ ।
पुर्जीमा भनिएको छ, ‘क. तुफान कुमार साउदको जाहेरी एवं जनसरकार प्रमुख क. अनुकुलको प्रतिवेदनले वादी नेपाल कम्युनिस्ट पार्टी जिल्ला अदालत कैलाली प्रतिवादी तपाईंसमेत भएको देश र जनताको हितविरुद्ध नेकपाको नेता कार्यकर्ताको सुराकी, अपहरण ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको छ भनी अभियोग लागेकोमा यो २५ दिने पुर्जी टाँसिएको छ ।’
‘जनअदालत’ मा हाजिर आए व्यवहारसमेत बुझी जनअदालतको कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ । ‘यो म्याद गुजारी फरार रहेर फेरि देश र जनताको विरुद्ध, नेता कार्यकर्ताको सुराकी अपहरण हत्या यातनामा संलग्न भए जिल्ला सुरक्षा विभागलाई जुनसुकै बेला पनि कारबाही गर्न पनि आदेश दिइएको छ,’ पुर्जीमा चेतावनी छ ।
‘पक्राउ पुर्जी’सँगै ‘चेतावनी पत्र’ पनि टाँसिएको छ । चेतावनी पत्रमा ती अनसन्धान अधिकारीको निर्देशन र सुराकीमा उदयराम थापा, अमर बम, विष्णु देवकोटा, सागर विष्ट र यम शाहीलाई सुराकी गरी अपहरण शैलीमा केही दिन बेपत्ता पर्ने काममा संलग्न रहेको आरोप लगाइएको छ ।
आफ्नो लडाइँ सेना र प्रहरीसँग नभएको र दलाल, भ्रष्ट तस्कर दलाल पुँजीवाद र संसदीय व्यवस्थाविरुद्ध भएकोले इमानदार भएर राष्ट्र र जनताको सेवा गर्न ती असइलाई चेतावनी दिइएको छ । ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा भनिएको छ ।
‘पक्राउ पुर्जी’ र ‘चेतावनी पत्र’ मा ‘२०७६–४–१७’ मिति लेखिएको छ ।
प्रहरी अधिकारीहरूले भने ‘पक्राउ पुर्जी’ र ‘चेतावनी पत्र’ का विषयमा अनुसन्धान भइरहेको बताएका छन् । समाचारमा आएपछि मात्रै पुर्जीका बारेमा थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त डिएसपी दक्षकुमार बस्नेतले बताए । उनले भने, ‘हामीले यसको पष्टि गरिसकेका छैनौं । पुर्जीमा भनेको घरवरिपरि कुनै पनि पर्चा भेटिएको छैन । राष्ट्रिय अनुसन्धान विभागमा असई हुँदैन । अनुसन्धान भइरहेको छ ।’
विप्लव समूहले नै उक्त विज्ञप्ती निकालेको हो भन्ने पुष्टि नभए पनि अनुसन्धान भइरहेको उनले बताए । ‘कसैले व्यक्तिगत रिसिइबीका लागि पनि यस्तो गरेको हुनसक्छ अनुसन्धान विभागमा त्यो नामको व्यक्ति छ कि भनेर खोज्दैछौँ,’ डिएसपी बस्नेतले भने ।
तत्कालीन विद्रोही माओवादीले यसैगरी ‘पक्राउ पुर्जी’ टाँस्ने गरेको थियो । समातिएकाहरूलाई आफ्नो ‘जनआदालतमा’ उपस्थित गराउने र बयान लिएर फैसला सुनाउने गरेका थिए । उक्त विद्रोही माओवादीबाट अलगिएको चन्द नेतृत्वको नेकपाले फेरि द्वन्द्वकालकै ‘जनअदालत’ ब्यूँतिएको देखिएको छ ।




















