दुबईबाट भागेकी राजकुमारीद्वारा लण्डनमा मुद्दा दायर

लण्डन (बीबीसी) । दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै युकेमा एउटा मुद्दा हालेकी छन् । शेख मोहम्मद अल मक्तुमकी पत्नी राजकुमारी हाया बिन्त अल–हुसेन राजपरिवारबाट भाग्ने तेस्री महिला सदस्य हुन् । 

यसै महिना उनी लन्डनमा लुकेको बताइएको थियो । उनी आफ्नो ज्यान असुरक्षित भएको भनेर चिन्तित् भएको बताइन्छ । उनले दायर गरेको मुद्दामा सुनुवाई मंगलवार लण्डनमा सुरु भएको छ । राजकुमारी हायाले संयुक्त अरब इमिरेट्स (युएई)मा आफूले छाडेका छोराछोरीको अभिभावकत्व लिन पाउनुपर्ने माग गरेकी छन् । उनले जबरजस्ती गरिएको विवाह र दुव्यर्वहारबाट बच्ने आदेश पनि माग गरेकी छन् । 

राजकुमारी हायाद्वारा गरिएका मागहरूको विस्तृत विवरण भने सार्वजनिक भएको छैन । यसबीच शेख मोहम्मदले चाहिँ आफ्ना सन्तानको दुबई फिर्तीका लागि आवेदन दिएका छन् । उनले अदालतले दिने आदेशहरूको विस्तृत विवरणहरूको जानकारी सार्वजनिक गर्ने कार्यमा पनि रोक लगाउन माग गरेका थिए । तर त्यसलाई न्यायाधीशले खारेज गरिदिए ।

सर एन्ड्र्यु म्याक्फार्लेनले यो ‘सार्वजनिक सरोकारको विषय’ भएको भन्दै अदालतमा गइसकेपछि त्यसको व्यापक अर्थ रहने आदेश दिएका थिए । राजकुमारी हायाको जन्म जोर्डनमा भएको थियो । उनले बेलायतका निजी विद्यालयहरूमा अध्ययन गरेकी हुन् । उनी जोर्डनका वर्तमान शासक अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन् । उनी ओलम्पिक्समा घोडचढीमा सहभागी भएकी थिइन् । शेख मोहम्मदसँग उनको सन् २००४ मा विवाह भएको थियो । उनी शेख मोहम्मदकी छैटौं र कान्छी पत्नी हुन् । सत्तरी वर्षका शेख गोडोल्फिन घोडादौड कम्पनीका अर्बपति मालिक हुन् । उनका विभिन्न पत्नीमार्फत् २३ सन्तान रहेको बताइन्छ । 

पैँतालीस वर्षीय हाया सुरुमा शरण खोज्न जर्मनी पुगेकी थिइन् । अहिले उनी लण्डनको प्रमुख क्षेत्र केन्सिंटन प्यालेस गार्डेनमा झण्डै १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसेर कानुनी लडाइँ लडिरहेको बताइएको छ । उनी बेलायतमा नै बस्न चाहन्छिन् भन्ने अनुमान गरिएको छ । यद्यपि उनका पतिले दुबईमा उनको फिर्ती चाहे भने युएईसँग निकट सम्बन्ध रहेको बेलायतका लागि कूटनीतिक टाउको दुखाइ बन्नसक्छ ।

राजकुमारी भागेपछि शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोष्ट गर्दै नाम उल्लेख नगरिकन एक महिलाले ‘धोखा दिएको र विश्वासघात गरेको’ आरोप लगाएका थिए ।

उनीनिकटस्थ सूत्रहरूका अनुसार हायाले यसै वर्ष शेखकी एक छोरी शेखा लतिफाबारे चिन्ताजनक तथ्यहरू फेला पारेकी थिइन् । शेखा लतिफा एक फ्रान्सेलीको सहयोगमा डुंगामार्फत् दुबईबाट भागेकी थिइन् । तर उनलाई भारतीय तटबाट सशस्त्र रक्षकहरूले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए । उक्त घटनालाई लिएर त्यसबेला राजकुमारी हायाले दुबईको प्रतिरक्षा गरेकी थिइन् । उनले शेखा लतिफा ‘शोषणको संकटमा रहेको’ र दुबई फर्केपछि ‘सुरक्षित भएको’ दाबी गरेकी थिइन् । मानव अधिकारकर्मीले चाहिँ शेखा लतिफालाई उनको इच्छाविपरीत अपहरण गरिएको बताएका थिए । 

यस घटनापछि राजकुमारी हायालाई कैयौं नयाँ तथ्य थाहा भएको र उनको पतिको ठूलो परिवारबाट उनीमाथि दबाब बढ्दै गएको बताइएको छ । त्यसपछि उनले आफूलाई दुबईमा असुरक्षित अनुभूति गर्न थालेको बताइएको छ ।

सन् २००० मा शेख मोहम्मदकी अर्की छोरी शेखा शाम्सा अल मक्तुम दक्षिण पूर्वी इंग्ल्याण्डस्थित घरबाट भागेकी थिइन् । झण्डै एक वर्षपछि उनी क्याम्ब्रिजमा फेला परिन् र दुबई फर्किइन् । श्रीमान्ले आफ्नी श्रीमतीलाई त्यसरी सम्बन्धविच्छेद गरेको पाइए उनलाई ३ वर्षसम्म कैद सजाय हुन सक्छ ।