काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए नेपाली कांग्रेस पार्टी र आफू पनि चुनावमा नजाने उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को-को चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’ आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’ उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । ‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’
उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’
निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार कामहरू अघि बढाउने उनको भनाइ थियो । ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्ने,’ महामन्त्री थापाले भने । २१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा महामन्त्री थापको जोड थियो ।
‘चुनावको परिणाम के होला, हाम्रा लागि कति अनुकूल होला, कति प्रतिकूल होला, त्यो हाम्रो आन्तरिक विषय हो,’ उनले भने, ‘हामी छलफल गरौंला, त्यसलाई अनुकूल बनाउने कोसिस गरौंला, थप मेहनत गरौंला, आफ्ना कुरा भनौंला ।’
महामन्त्री थापाले चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने पनि जिकिर गरे । ‘अब चुनाव भएन भने हामी फेरि ठूलो अनिश्चिततातर्फ जान सक्छौं । २००७ साल देखि २०१५ सालको जस्तो अवस्था,’ उनले भने, ‘त्यसकारणले गर्दा इलेक्सन गर्ने कुरा आवश्यक भयो ।’




















