काठमाडौं । नेपाली टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी आइतबार क्यानाडा प्रस्थान गरेका छन् । क्यानाडामा जारी ग्लोबल क्यानडा टी–२० लिग खेल्न सन्दीप र सोमपाल आइतबार राति सिंगापुरबाट क्यानडा प्रस्थान गर्ने भएका हुन् ।
आइसिसी टी–२० विश्वकपको एसिया छनौटका लागि नेपाली टोलीसँगै सिंगापुरमा रहेका दुवै खेलाडी आइतबार राति क्यानाडा प्रस्थान गरेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
सन्दीप र सोमपाल दुवै सोमबार बिहान क्यानाडा पुग्ने कार्यतालिका छ । त्यसदिन उनीहरू आराम गर्नेछन् भने मंगलबारबाट प्रतियोगिताका लागि उपलब्ध हुनेछन् । सन्दीपलाई टोरोन्टो नेशनल्सले यस सिजनमा ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । यस्तै सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
सन्दीप र सोमपाल क्यानाडा पुगेर आराम गर्ने दिन नै यी दुईका टोलीहरू एक आपसमा भिड्दैछन् । सोमबार सन्दीपको टोरोन्टो र सोमपालको विनिपेग एकआपसमा भिड्न लागेका हुन् । तर उक्त भिडन्तमा सन्दीप र सोमपाल दुवै टोलीमा उपलब्ध नहुने भएका छन् ।
सन्दीपको टोरोन्टो उद्घाटन खेलमा पराजित भएको थियो भने दोस्रो खेल भने जितेको थियो । टोरोन्टोको आगामी खेल सोमबार छ । यस्तै सोमपालको विनिपेग पहिलो खेलमा मोन्ट्रोरियल टाइगर्सबाट पराजित भएको थियो । विनिपेगको अर्को खेल आइतबार भेन्कुवभर नाइट्ससँग छ ।
अंकतालिकामा दुई खेल खेलेको सन्दीपको टोरोन्टो एकमा जित र एकमा हारसहित २ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तै एक खेलमा हार ब्यहोरेको सोमपालको विनिपेग पुछारमा छ ।



















