कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गर्न संस्थापनलाई दबाब

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको १४ औं महाधिवेशनको मिति निर्धारण गरेर अगाडि बढ्न नेतृत्वलाई दबाब दिएका छन् । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका १४ वटा एजेण्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महŒवपूर्ण एजेण्डाका रूपमा छलफल हुँदै आएको छ । केही सदस्यहरूले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् । 

केही केन्द्रीय सदस्यहरूले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधानविपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरी क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ आंै महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगिनसकिएको बताए । 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए । उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधानविपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए । 

असार २२ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ । बैठकमा पेस भएका १४ वटा एजेण्डामध्ये नियमावलीको एजेण्डामा केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपले परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ । 

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल हुने बताएका छन् । आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसार्इं, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राखेका छन् । 

केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ । कांग्रेस बैठक विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपश्चात् १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा केन्द्रित छ ।