काठमाडौं । नेपाली कांग्रेसमा सहमतिअनुसार नै संघीय संरचनामा संगठन विस्तार गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विवाद पेचिलो बन्दै गएको छ । केन्द्रीय समितिको शुक्रबारको बैठकमा पनि संस्थापन पक्ष र संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूबीच यही सेरोफेरोमा विवाद देखिएको छ । बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सहमतिमै रिक्त संरचनाहरूलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरूले भने रिक्त संचरनामा पदपूर्ति गर्दा विधानले गरेको व्यवस्थाअनुसार निर्वाचन प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन् ।
बैठकमा धारणा राख्ने क्रममा कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनको तयारीबारे पदाधिकारीहरूको धारणा माग गरे । ‘पदाधिकारीहरूको प्रस्ताव के हो पहिला त्यो भन्नुस् । पार्टी त तपाईंहरूकै प्रस्तावअनुसार अगाडि बढ्छ । यो विषयमा तपाईंहरूको प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव कति स्वाभाविक छ, त्यसअनुसार अगाडि कुरा गर्न सकिन्छ,’ सिटौलाले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
वर्षाका कारण स्थगित भएर बिहीबारबाट पुनः सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रूपमा आगामी महाधिवेशनको छलफलले प्रवेश पाएको छ । नेताहरू यसै विषयमा केन्द्रित भएर आफ्नो धारणा राखिरहेका छन् ।
शुक्रबारको बैठकमा धारणा राख्दै सिटौला समूहनिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका रिक्त संरचनाहरू गठनका लागि विधानले गरेको व्यवस्थाअनुरूप नै हुनुपर्नेमा जोड दिए । उनले सहमतिअनुसार नै रिक्त संरचना गठन गर्नुपर्ने भए पनि प्रक्रिया मिच्न नहुने बताए । ‘संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलको संरचना निर्माण गर्नुपर्छ । व्यवस्था प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा हो । गर्न चाहने हो भने ६ महिनाभित्रै संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलका संरचना निर्माण गर्न सकिन्छ । ७७ जिल्लामध्येमा सबैभन्दा दुर्गममा मलाई पठाउँदा पनि हुन्छ,’ उनले बैठकमा भने ।
तर, संस्थापन पक्ष भने ६ महिनामा निर्वाचन गरेर रिक्त संरचनाहरू विस्तार गर्दा विधानले निर्धारण गरेको मितिमा आगामी महाधिवेशन गर्न सम्भव नहुने दाबी गर्दै सहमतिका लागि नै जोड दिइरहेको छ । ‘संक्रमणकालीन व्यवस्था कार्यान्वयन गर्नेबित्तिकै तल्लो तहमा पनि संरचनामा व्यापक फेरबदल हुन्छ । र, विधानले निर्धारण गरेको मितिभित्र महाधिवेशन गर्ने कुरा सम्भव हुँदैन । त्यसकारण सहमतिमै अगाडि बढ्नुपर्छ,’ संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदको भनाइ थियो ।
संस्थापन इतर मानिने केन्द्रीय सदस्य धनराज गुरुङले भने बैठकमा छुट्टै प्रस्ताव गरेका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै तत्कालीन २०४ निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशील सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तोकिनुपर्ने धारणा राखे । ‘महाधिवेशन एकदमै नजिक आइसक्यो । समय अपुग हुँदै छ । संक्रमणकालीन व्यवस्थामा जाने हो भने ५–६ महिना त्यसै खान्छ । त्यसैले साबिककै (२४०) क्षेत्रमार्फत आजैबाट क्रियाशील सदस्यता वितरण सुरु गरौं,’ उनले भने, ‘संक्रमणकाल भनेर बस्यौं भने वैधानिक अड्चनहरू पनि छन् । लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । उसलाई किनारामा टुलुटुलु हेरेर बस् भन्दै हामी चुनाव लड्न मिल्दैन । अहिले नै महाधिवेशनको मिति तोकौं ।’
बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपश्चात् १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित भएको जनाइएको छ ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, प्रदीप पौडेल, पार्वता डिसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आफ्नो विचार व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन १२ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।



















