काठमाडौं । चीनले नेपालमा दर्ता भएका एयरलाइन्सलाई थप ८ चिनियाँ गन्तव्यमा उडान सेवाका लागि बाटो खुला गरेको छ । दुई देशका प्रतिनिधिबीच शुक्रबार भएको वार्तापछि यस्तो सहमति भएको हो ।
यसअघि, नेपालमा दर्ता भएका एयरलाइन्सका लागि चीनले आफ्ना ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिँदै आएको थियो । शुक्रबार भएको सहमतिसँगै नेपाली एयरलाइन्सका लागि १५ चिनियाँ गन्तव्य खुला भएको छ । नेपाली एयरलाइन्सहरुका लागि बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु र सियान सहरमा यसअघि नै चीनले उडान अनुमति दिइसकेको थियो । नेपाली वायुसेवा प्रदायक कम्पनीहरूका लागि खुला गरिएका थप आठ सहरको नाम भने तोकिएको छैन ।
दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा भएको सहमतिअनुसार थपिएका आठ गन्तव्य नेपाल सरकारले रोज्नेछ । वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनबारे शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरूपण गर्न चिनियाँ पक्षलाई अनुरोध गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ गएको टोलीले नेपाल–चीन हवाई सम्झौता पुनरावलोकन गर्दै नेपाली वायुसेवा कम्पनीका लागि थप चिनियाँ गन्तव्यको बाटो खुलाएको हो । यो सहमतिसँगै अब अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त नेपाली वायुसेवा कम्पनीले आफ्नो इच्छाअनुसार चीनका १५ वटा विमानस्थलमा सिधा उडान गर्न पाउनेछन् ।
नेपाली वायुुसेवा कम्पनीमध्ये हाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् ।
दुई मुलुकबीच साप्ताहिक उडान संख्यामा पनि वृद्धि गरिएको छ । हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने सुविधा रहँदै आएकोमा यो संख्या बढाएर ९८ पु¥याइएको छ । यस्तै, चिनियाँ विमानसेवा कम्पनीहरूका लागि पनि नेपाली गन्तव्य बढाइएको छ । सन् २०२० मा सञ्चालन हुने लक्ष्य रहेको पोखरास्थित क्षेत्रीय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चिनियाँ वायुसेवा कम्पनीलाई उडान अनुमति प्रदान गरिएको छ । दुवै विमानस्थल सञ्चालन भएपछि चिनियाँ वायुसेवा कम्पनीले ती विमानस्थलमा उडान गर्न पाउने गरी सहमति भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
हाल नेपालमा पाँच चिनियाँ वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । थप ८ कम्पनीले नेपालमा उडानका लागि रुचि देखाएको नेपाली अधिकारीहरूको भनाइ छ ।



















