साइनो आइटम गीतमा निता

काठमाडौं । यही साउन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘साइनो’मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुसालको छ । भिडियोमा नायिका निता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल छन् ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्र चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रमेश थापाको निर्देशन रहेको ‘साइनो’मा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्रीलगायत अन्य कलाकारको अभिनय छ । 

चलचित्र साइनो यही साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्र अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको ‘साइनो’मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । अहिले साइनोले प्रचारप्रसारलाई समेत तीव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।