नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाडौं । आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो ।

मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै पूरा गर्यो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले २१ बलमा ५१ रन बनाए ।

त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाए ।

यसअघि मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले २ ओभरमा ३ विकेट तथा बसन्त रेग्मीले १ ओभरमा २ विकेट झारे ।

पहिलो खेलमा हिजो कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।

प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।