
क्वालालम्पुर: मलेसियाको अध्यागमन विभागले देशभर गैरकानुनी रूपमा बसोबास तथा काम गर्दै आएका विदेशी नागरिकविरुद्धको कारबाहीलाई थप तीव्र बनाएको छ। राष्ट्रिय सुरक्षा, कानुनी शासन र आप्रवासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत सन् २०२६ को हालसम्म देशव्यापी ७,१०५ वटा विशेष अपरेसन तथा छापा मारिएको विभागले जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार ती अपरेसनका क्रममा ९६,९९४ जना विदेशी नागरिकको कागजात जाँच गरिएको थियो। जाँचका क्रममा आवश्यक कानुनी कागजात नभएका ४१,५९६ जना अवैध आप्रवासीलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
महानिर्देशक शाबानले विशेष गरी सन् २०२३ यता सामाजिक भ्रमण पास (Social Visit Pass/टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मलेसियामा प्रवेश गरी अवैध रूपमा रोजगारी गर्ने विदेशीहरूको संख्या उल्लेखनीय रूपमा बढेको बताउनुभयो। यस्तो गतिविधिले देशको आप्रवासन प्रणालीमा चुनौती थपिएको भन्दै विभागले निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाएको जनाएको छ।
विभागले अवैध रूपमा काम गर्ने विदेशीलाई मात्र होइन, उनीहरूलाई आश्रय दिने तथा गैरकानुनी रूपमा रोजगारीमा लगाउने १,१२७ जना स्थानीय तथा विदेशी रोजगारदाताविरुद्ध पनि कानुनी कारबाही अघि बढाएको छ। सम्बन्धित रोजगारदातामाथि मलेसियाको अध्यागमन ऐनअनुसार अनुसन्धान तथा मुद्दा प्रक्रिया जारी रहेको विभागले जनाएको छ।
यसैबीच, मलेसियाका गृह मन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले अध्यागमन हिरासत केन्द्र (डिटेन्सन सेन्टर)हरू क्षमताभन्दा बढी भरिए पनि अवैध आप्रवासीविरुद्धको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ। उहाँले देशको सुरक्षा, सार्वजनिक व्यवस्था र कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अपरेसनलाई निरन्तरता दिइने बताउनुभयो।
मलेसिया सरकारले अवैध आप्रवासनविरुद्ध कडा नीति अवलम्बन गरिरहेका बेला यहाँ कार्यरत वा रोजगारीका लागि आउन चाहने नेपालीसहित सबै विदेशी नागरिकलाई आफ्नो भिसा, राहदानी, रोजगार अनुमति तथा अन्य कानुनी कागजात सधैं वैध र अद्यावधिक अवस्थामा राख्न आग्रह गरिएको छ। कानुनी प्रक्रिया पालना नगर्दा पक्राउ, हिरासत, जरिवाना, कालोसूची (Blacklist) वा स्वदेश फिर्ता (Deportation) जस्ता कारबाहीको सामना गर्नुपर्ने भएकाले सबैलाई विशेष सतर्क रहन पनि विभागले सचेत गराएको छ।



















