क्वालालम्पुर(जोहोरबारु):= मलेसियास्थित एक सुरक्षागार्ड कम्पनीमा लामो समयदेखि कार्यरत धनकुटा निवासी नेपाली श्रमिक लाल बहादुर राई को जोहोरबारुमा ड्युटीका क्रममा अचानक बिरामी परेपछि असामयिक निधन भएको दुःखद खबर प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार, उहाँ हिजो आफ्नो नियमित कार्यस्थलमै अचानक अस्वस्थ हुनुभएको थियो। उपचारको प्रयास गरिए पनि उहाँको ज्यान जोगाउन नसकिएको बताइएको छ। उहाँको निधनको खबरले मलेसियामा रहेका नेपाली समुदाय, साथीभाइ तथा आफन्तहरूलाई गहिरो शोकमा डुबाएको छ।
स्वर्गीय ४८ बर्षिय लाल बहादुर राई पछिल्लो समय विगत ५ बर्षदेखी सुरक्षागार्ड कम्पनीसंग आबद्ध रहि वैधानिक हैसियतमै कार्यरत रहि आएका थिए।
यता नेपाली राजदूतावास क्वालालम्पुरले समेत राईको निधनको खवर पुष्टि गरेको छ। आवश्यक अनुसंधान र पोस्टमार्टम पश्चात् मृतक राईको शव अन्तिम दाह संस्कारका लागि नेपाल पठाइने जानकारी दिनुभयो।




















