अर्काको पैसा लगेको भन्दै आफूमाथी कुटपिट गर्ने युवकविरुद्ध अशोक दर्जीले दिए उजुरी।

काठमाडौं := गायक तथा कलाकार अशोक दर्जीमाथि कुटपिट र चरित्रहत्या गरेको आरोपमा झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। सामाजिक सञ्जालमा अशोक दर्जीलाई केही स्थानीय युवाहरूले घेरेर थप्पड हानेको र दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो। पीडित दर्जीले आफ्नो सुरक्षा र न्यायको माग गर्दै प्रहरी प्रशासन गुहारेका हुन्।

प्रहरीमा दिइएको उजुरी अनुसार करिब एक महिना अगाडि घटेको उक्त घटनामा विपक्षीहरूले दर्जीमाथि १ हजार रुपैयाँ चोरेको झूटो आरोप लगाएका थिए। आरोपित युवाहरू अंकित प्रधान, शशांक प्रधान र शुक्रे (गुन्द्रुक) ले योजनाबद्ध रूपमा उनको चरित्रहत्या गर्ने र भविष्यमाथि खेलबाड गर्ने उद्देश्यले सो भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएको दर्जीको दाबी छ। भिडियो सार्वजनिक भएपछि चलचित्र निर्मात्री नीता ढुंगाना लगायतका कलाकर्मीहरूले पनि अशोकको न्यायका लागि आवाज उठाएका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार उजुरी प्राप्त भइसकेको र घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै आवश्यक अनुसन्धान सुरु भइसकेको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ। दर्जीका फ्यान र कला क्षेत्रका व्यक्तित्वहरूले दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।