इलाहाबाद । भारतको इलाहाबाद उच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुर्जी दिएको छ । भारतीय सीमा सुरक्षा बलका बर्खास्त सिपाही तेजबहादुर यादवले उच्च अदालतमा उजुरी दिँदै नरेन्द्र मोदीको चुनावलाई चुनौती दिएका थिए । समाचार एजेन्सीका अनुसार न्यायाधीश एमके गुप्ताको इजलासले २१ अगष्टमा अर्को सुनुवाइ गर्नेछ ।
नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा वाराणसीबाट चुनाव जितेका थिए । सोही चुनाव क्षेत्रमा समाजवादी पार्टीले तेजबहादुर यादवलाई मोदीको प्रतिद्वन्द्वीको रूपमा उम्मेदवार बनाएको थियो । तर, निर्वाचन आयोगका रिपोर्टिङ अधिकारीले उनको मनोनयन पत्र रद्द गरिदिएका थिए । अधिकारीका अनुसार यादवले आफूलाई बेइमानी वा भ्रष्टाचारको कारण भारतीय सीमा सुरक्षा बलबाट बर्खास्त नगरिएको प्रमाणित गर्न नसकेका कारण उनको मनोनयन रद्द गरिएको थियो ।
यादवले अदालतमा दायर गरेको मुद्दामा आफ्नो मनोनयन गलत तरिकाले रद्द गरिएको आरोप लगाएका थिए । यादवका वकिलका अनुसार मनोनयन रद्द गर्नुभन्दा अगाडि उनलाई उचित सुनुवाइको मौका दिइएको थिएन । उनको कुराको सुनुवाइपछि इजलासले मोदीको नाममा पुर्जी जारी गरेको हो ।



















