घट्यो स्मार्ट पार्किङ शुल्क

काठमाडौँ । सपिङ गर्न न्युरोड पुगेकी हिमानी श्रेष्ठले स्मार्ट पार्किङमा तीनपटक आफ्नो स्कुटी पार्क गरिसकेकी छन् । उनले पहिले दुईपटक २ घण्टाको ५० रुपैयाँ तिरिन् । हिले पार्किङ शुल्क घटेपछि उनले राहत अनुभव गरेकी छन् । 

रमेश भुसाललाई मोटरसाइकल कहाँ पार्क गर्ने भन्ने चिन्ता थियो । ‘स्मार्ट पार्किङ’ का बारेमा सुनेर उनी खिचापोखरी पुगे । करिब आधा घण्टाको काम सकेर १५ रुपैयाँ बुझाए । रमेशलाई पहिला त्यही क्षेत्रमा पार्किङमा पाएको सास्तीभन्दा १५ रुपैयाँ बुझाउन सजिलो लागेको छ । शुल्क चर्काे भयो भनेर अरूको मुखबाट गुनासो सुनेका भए पनि सजिलै पार्किङ गर्न पाएको र पहिलाभन्दा शुल्क पनि घटेकोमा रमेश खुसी छन् । 

महानगरले स्मार्ट पार्किङ शुल्क घटाएपछि सेवाग्राहीहरू खुसी देखिएका छन् । उपत्यकामा पार्किङ व्यवस्थित गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले जेठको दोस्रो हप्तादेखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको थियो । सेवाग्राहीले सुविधा प्रयोग गरेबापत् दुइपांग्रे साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रेका लागि ८० रुपैयाँ शुल्क तोकिएको थियो । महानगरपालिकाले ‘हिृवल्स टुली एयर्स’ सँग सहकार्य गरेर ‘स्मार्ट पार्किङ’ सुरु गरेको थियो । तर सेवा शुल्क चर्को भएको भन्दै आलोचना भएको थियो । 

सर्वसाधारणको गुनासोलाई ख्याल गर्दै सबैको सहकार्यमा शुल्क घटाएपछि भने सकरात्मक प्रतिक्रिया आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । गत आइतबार महानगरको पाँचौं अधिवेशनले स्मार्ट पार्किङको भाडा घटाउने निर्णय गरेको थियो । दुईपांग्रेलाई आधा घण्टाको १५ रुपैयाँ तोकिएको छ । चारपांग्रेको शुल्क भने नघटाइएको प्रवक्ता डंगोलले बताए । उनले चारपांग्रेको विषयमा पनि छलफल भइरहेको बताए । सर्वसाधारणको सहजताको लागि सुरु गरेको पार्किङमा कसैले पनि गुनासो गर्नुपर्ने अवस्था नरहोस् भन्ने महानगरको धारणा रहेको डंगोल बताउँछन् ।

अहिले सञ्चालनमा आएका पार्किङको प्रभावकारिता हेरेर अन्यत्र पनि व्यवस्था गर्ने उनको भनाइ छ । अहिले आधा घण्टा पार्किङ गर्न दुईपांग्रेलाई १५ रुपैयाँ र चारपांग्रेलाई ५० रुपैयाँ तोकिएको छ । हाल स्मार्ट पार्किङमा एकपटकमा ८ सय वटा मोटरसाइकल र ४० वटा चारपांग्रे पार्किङ हुने व्यवस्था छ । महानगरले न्युरोडको पाको, दरबारमार्ग इन्द्रचोक, धर्मपथ, खिचापोखरीमा स्मार्ट पार्किङ प्रबन्ध गरेको छ ।