दुई किलो सुनसहित किशोर पक्राउ

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट अवैधरूपमा ल्याइँदै गरेको दुई किलो सुनसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको स्याँफ्रुबेंशीका १७ वर्षीय भीमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनी शनिबार राति समातिएका हुन् । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ख६५२ नम्बरको यात्रुबाहक बसमा गोप्य सूचनाका आधारमा चेकजाँचका क्रममा महानगरीय प्रहरी वृत्त, थानकोटको प्रहरी टोलीले ती किशोरका साथबाट कालोटेपले बेरेर रुमालले कम्मरमा बाँधेको अवस्थामा उक्त सुन बरामद भएको जनाएको छ । उक्त सुन चीनबाट भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषधसहित एकजना पोर्चुगिज नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय विमानस्थलले उक्त चार करोड मूल्यबराबरको लागुऔषधसहित शुक्रबार पक्राउ गरेको जनाएको छ । एयर इण्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेको अवस्थामा पासपोर्ट नम्बर ७०१२९२ बाहक २५ वर्षीय टियागो मेन्डेस पेरेइरा नाम गरेका पोर्चुगिज नागरिक समातिएका हुन् । 

चेकजाँचमा २७ वटा कागजका बक्समा राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध, एम्फेटामाइन (आइसी), चार केजी दुई सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध लागुऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढी हुने र जनाइएको छ ।