जकाता , इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समयअनुसार अपराहृन ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १ सय ६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरूले बताएका छन् । भूकम्प जमिनको सतहबाट करिब दश किलोमिटर गहिराइमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । त्यसैगरी, अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको दश किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६ दशमलव ६ म्याग्निच्युडको रहेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरूको भनाइ छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ । ब्रुम प्रहरी विभागले झन्डै एक मिनेटसम्म घर हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबिसीले भने सामान्य क्षतिका केही खबर आए पनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ ।



















