काठमाडौं । नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले क्लिन स्विप गर्दै नेपालले पहिलोपटक शृंखला जितेको हो ।
क्वालाम्पुरस्थित किनरारा मैदानमा आइतबार भएको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको हो । यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।
दोस्रो खेलमा आइतबार नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो । मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन् । अर्का ओपनर वीरनदीप सिंहले २३ रन बनाए ।
पहिलो विकेटका लागि अजिज र सिंहले ७५ रनको साझेदारी गरेपछि नेपाल संकटमा देखिएको थियो । अजिजले आक्रामक खेल्दै ३७ बलमा ७ चौका र एक छक्का प्रहार गरे । नवौं ओभरको चौथो बलमा वीरनदीप सिंहलाई अभिनास बोहराले विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो । वीरनदीपको एज लागेपछि विकेटकिपर भण्डारीले उत्कृष्ट एकहाते क्याच गरेका थिए ।
अर्को ओभरमा सइद अजिजलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराए । अजिज ५० रनमा पवेलियन फर्किएपछि नेपाली बलरहरूले प्रभाव देखाए । कप्तान अहमद फैजलाई सन्दीप लामिछानेले १७ रनमा पवेलियन फर्काए । त्यसअघि साफिक सारिफ (१०) र अनवर अरुदिन(७) को विकेट नेपालले लिएको थियो ।
पुछारतर्फ अमिनुद्दिन राम्ले र मुहम्मद सयाहादले आक्रामक पारी खेल्दै मलेसियालाई लक्ष्य नजिक पु¥याएका थिए । तर, राम्लेलाई पारस खड्काले सोमपालको हातबाट क्याच गराउँदै उनीहरूको शृंखला बराबरी गर्ने आशा निराशामा बदलियो । राम्लेले ११ बलमा ३ छक्कासहित २४ रन जोडे भने सेयाहादले ११ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । ४ ओभरमा ३८ रन खर्चँदै सन्दीप केही महँगा बने । यस्तै सोमपालले ४ ओभरमा २५ रन खर्चे । त्यसबाहेक करण केसी, पारस खड्का र अभिनाश बोहराले एक÷एक विकेट लिए ।
त्यसअघि विनोद भण्डारीले आक्रामक अर्धशतक बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो । विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्कासहित ५१ रन जोडे । यस्तै शरद भेषावकरले ४० रन बनाए । २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे ।
कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए । उनीहरूबाहेक रोहितकुमार पौडेलले १९ तथा पुछारमा आक्रामक ब्याटिङ गरेका करण केसीले १० बलमा एक छक्का र एक चौकासहित १६ रन बनाए ।
कप्तान पारस खड्कालाई ओपनरका रूपमा पवन सर्राफले साथ दिएका थिए । उनीहरूबीच पहिलो विकेटका लागि ३४ रनको साझेदारी भएको थियो । पवनलाई पाँचांै ओभरमा सैद अजिजले रनआउट पारेपछि सो साझेदारी टुटेको थियो ।
फ्रिति सामको लगत्तै छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल(७) पवेलियन फर्काए । चौथो विकेटका लागि रोहितकुमार पौडेल र शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
विनोदको कीर्तिमान
मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा विस्फोटक ब्याटिङ गरेका विनोद भण्डारीले उक्त फम्र्याटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक बनाउँने खेलाडी बने । विनोदले कप्तान पारस खड्काको नाममा रहेको कीर्तिमान भंग गर्दै आफ्नो नाममा इतिहास कायम गरेका हुन् ।
विनोदले २५ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यसक्रममा उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यसअघि पारसले शनिबारमात्रै मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रियमा ३२ बलमा अर्धशतक प्रहार गर्दै सो कीर्तिमान राखेका थिए । टी–२० अन्तर्राष्ट्रियमा पहिलोपटक अर्धशतक प्रहार गरेका विनोदले टिम बाहिर रहँदा आफ्नो मूल्यांकन गर्दै मिहिनेत गरेको र टिममा परेपछि मौका पाएको बेला प्रदर्शन गरेको बताए ।
यस्तै यस खेलमा नेपाले टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो स्कोरसमेत खडा गरेको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको हो । यसअघि सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा हङकङविरुद्ध नेपालले १ सय ४९ रनको स्को बनाएको थियो ।
आत्मविश्वास बढ्योः पारस
कप्तान पारस खड्काले मलेसियाविरुद्धको खेलबाट टी–२० विश्वकपको एसिया छनौटका लागि आत्मविश्वास बढेको बताएका छन् ।
सन् २०२० मा अष्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारीस्वरूप नेपालले मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रय टी–२० शृंखला खेलेको हो । मलेसियाबाट साउन ३ गते नेपाल विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ ।
एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन् । टी–२० प्रतियोगितामा राउण्ड रोविन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्नेछ ।
‘मलेसियाले साँच्चै धेरै राम्रो खेल्यो । हामीले आफ्नो मनोबल गुमाएनौं,’ पारसले खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘पछिल्लो दुई खेलमा सबै खेलाडीले राम्रो खेले । आजको खेलमा शरद राम्रो ब्याटिङ गरे । विनोदको ब्याटिङ अभूतपूर्व थियो । टिमको प्रदर्शनबाट धेरै खुशी छु । सिंगापुरको प्रतियोगिता अगाडि अब एक हप्ता बाँकी छ । दुईवटा म्याच खेल्यौं । त्यसले आत्मविश्वास थपेको छ अनि राम्रो अनुभव पनि पाएका छौं ।’




















