मलेसियाविरुद्वको दोस्रो खेलमा नेपाल विजयी

काठमाडौं । नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी–ट्वान्टी जितेको छ । आज भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाएको थियो ।

मलेसियाकालागि शैयद अजीजले सर्वा्धिक ५० रन बनाउँदै अमीनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।

मुहम्मद रियाहदत २१ रनमा नटआउट रहे । अहमेद फैज १७, शफीक शरीफ १०, अरुवर अरुद्वीन ७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भएका थिए ।