महनौरी गाउँका २० घर बाढीले बगायो

राजविराज । बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ ।

घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् । हनुमाननगर(कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ ।

यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् । यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी–कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । 

यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् ।