सत्यराज सिंह ।
बझाङ । जिल्ला भरि परम्परागत धारा पधेरा र कुवाहरु लोप भई रहेका र तिनीहरुका मुल सुक्दै गईरहेका बेला यहाँको छबिसपाथीभेरा गाउँपालिकाको स्थानीय सरकारले भने पालिका भित्र रहेका यस्ता मुहान धारा, कुवा र पधेराहरुको संरक्षण गर्दै आएको छ । गाउँपालिका कार्यालयले गत आर्थिक बर्षको बजेटमा गाउँपालिका भित्रका सबै वडा टोल बस्तीमा रहेका परम्परागत कुवा ( नाउला) पधेरा ( ढुङ्गे धाराहरु)को पुर्नर निर्माणका साथै संरक्षण गरेपछि अहिले यस्ता कुवा पधेराहरु स्वभायमान देखिएका छन् ।
प्रत्येक गाउँ गाउँमा परम्परागत बस्ती बस्नुका पछाडि हरेक गाउँमा गाउँ नजिकै पानीका ( नाउला) पधेरा ( ढुङ्गे धाराहरु) अझै पनि बस्तीमा धेरै देखिन्छन् । गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले आजकाल खानेपानीका योजनाले यस्ता प्राचिन कुवा पधेराहरु बेवारिसे अबस्थामा देखिएको हुँदा यो हाम्रो मौलिकता र सभ्यता संग जोडिएको हुनाले संरक्षण गरेको बताए । उनले गाउँपालिकाले यस्ता जिर्ण र बेवारिसे धारा पधेराहरुलाई संरक्षण गर्ने लक्ष्य लिएको बताए । पालिका भित्र रहेका झण्डै एक दर्जन जति कुवा, पधेराहरुको संरक्षण गर्ने पालिकाले योजना लिएको छ ।
प्राचिनकालमा पाण्डवहरुले निर्माण गरेको ब्यासी चौधानपाटामा जिर्ण र बेवारिसे रहेका देउनाउँलोलाई पनि गाउँपालिकाले यसपाली वरपर देवाल लगाएर आर्कषक कुवा बनाएको छ । प्राचिनकालमा सुदूुरपश्चिमको प्रख्यात बान्नी मस्टो देवतालाई समेत पानी चढाउने यस कुवाको सरसफाईका साथै मर्मत सम्भार गरेपछि अहिले कुवाभरि टमक्क पानी भरिएको देखिन्छ । कुवा नजिकै बान्नी मष्टा मन्दिर र जिल्ला कै प्रख्यात बान्नी कै चैतली मेला लाग्ने स्थान बान्नीको चौर पनि नजिकै भएकाले यो कुवा आन्तरिक तथा बाह्य पर्यटकका लागी समेत आर्कषक र चाखलाग्दो भएको छ ।

यस कुवामा पनि प्राचिन कालमा पाण्डव कौरवहरुले शिलाहरुबाट कुवा बनाएको हुदा कुवाको पानी गमीको सिजनमा चिसो हुने र चिसोको बेला तातो हुने गर्दछ । यो देउ कुवा जस्तै प्राचिनकालका कुवा पधेराहरु पाटागाउँ क्षेत्र , मण्डी , मुम्ला , ब्यासी चौधानपाटा, तामाखनी ,पडितगाउँ,थलारा र लेकगाउँ क्षेत्रका गाउँहरुमा पनि थुर्पै कलात्मक ढुङ्गे धाराहरु प्रसस्त छन् । परम्परागत कुवा, पधेरा र ढङ्गे धाराहरुको सरंक्षण र सम्र्बधनका लागी प्रशंसनिय काम गरेको स्थानीय उमेशराज जोशीले बताए । पुरानो समयमा खानेपानीका योजना निर्माणबाट गाउँ टोल बस्तीमा आधुनिक धाराहरु बनाउने प्रबिधी नहुदा जिल्लाका अधिकाशं बस्तीहरु गाउँ नजिकै रहेको कुवा ढुङ्गे धारा नजिकै बस्ती बस्ने गरेका थिए । जिल्लाका अन्य गाउँ बस्तीमा पनि प्राचिनकालमा कौरब पाण्डबहरुले निर्माण गरेका कलात्मक कुवा र पधेराहरु अहिले पनि जिर्ण अबस्थामा गाउँ गाउँमा देखिन्छन् ।




















