काठमाडौं । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सोमबार भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको गुमाउँदै पार र्गयो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हाने । भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरेका थिए ।
त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा ८७ रनमा अलआउट भएको थियो ।
मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।
बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १(१ विकेट लिए।
अब नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ।




















