तेहरान । इरानले आफ्नो एउटा पछिल्लो घोषणामा सन् २०१५ मा भएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको बताएको छ । तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको बताएका हुन् ।
इरानले सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इनरिच्ड) युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा कम समयमा यस्तो नयाँ घोषणा आएको हो । त्यस्तो इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताइन्छ ।
इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ । अराक्चीले भनेका छन्, ‘इरान न त अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्नेछ न त त्यसलाई रद्द गर्नेछ ।’ उनले युरोपेली संघ (इयु)का विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमाहरूमा अडिग नरहने स्पष्ट पारेका थिए ।
सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरूले आफूहरूले गरेको प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाए । यसअघि सन् २०१८ मा अमेरिका एकपक्षीय रूपबाट सम्झौताबाट बाहिरिएको थियो । त्यसयता उसले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ । सम्झौताबाट अमेरिका पछाडि हटेको एक वर्ष नाघेको अवसरमा इरानले बाँकी हस्ताक्षरकर्तालाई ६० दिनको समयसीमा दिएको थियो । तेहरानले चीन, फ्रान्स, जर्मनी, रसिया र ब्रिटेनलाई आफूलाई अमेरिकी प्रतिबन्धहरूबाट बचाउन आग्रह गरेको थियो ।
आइतबारको पत्रकार सम्मेलनका बेला सो समयसीमा सकिएको थियो । अराक्चीका अनुसार ३.६७ प्रतिशतभन्दा बढी घनत्वमा युरेनियमको थप प्रशोधन वा इनरिच्मेन्टको कार्य केही घण्टामा सुरु हुने र त्यसले बुसर पावर प्लान्टलाई ऊर्जा प्रदान गर्नेछ । अधिकारीहरूले यसअघि त्यस्तो घनत्व पाँच प्रतिशतसम्मले बढ्ने बताएका थिए । हतियार तहका युरेनियम ९० प्रतिशत वा बढी ‘इनरिच्ड’ हुने गर्छन् । इरानी राष्ट्रपति हसन रूहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए । प्रत्येक ६० दिनमा इरानले सन् २०१५ को सम्झौतामा उसले गरेका प्रतिबद्धताबाट एकपछि अर्को कदम पछाडि फर्किदै जाने बताएको छ । प्रतिबन्धहरू हटाइए कूटनीतिक बाटोहरू अझै खुला रहने उसले बताएको छ ।
इजराइलका ऊर्जामन्त्रीले इरानको कदमको आलोचना गरिसकेका छन् । उनले भनेका छन्, ‘अहिले बढाइएको तह मझौला खालको भए पनि इरानले परमाणु शस्त्रीकरणतर्फ आफ्नो कदम बढाएको छ ।’ फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले इरानी राष्ट्रपति हसन रुहानीसँग सम्झौता अलपत्र परे के हुन्छ भन्ने बारे ‘कडा चासो’राखेका थिए । त्यसको एकदिनपछि यस्तो घोषणा भएको हो । रुहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए ।
इरानले युरेनियम प्रशोधन बढाउनु भनेको सन् २०१५ को सम्झौताको अन्त्य नजिकिएको अवस्था हो । युरोपेली हस्ताक्षरकर्ताहरू सम्झौताको औचित्य सकिएको घोषणा गर्ने सीमा सार्न संघर्षरत छन् । यदि इरानले सम्झौता उल्लंघनका आफ्ना सीमा बढाउँदै लग्यो भने एउटा बिन्दुमा उनीहरूसँग निकै कम विकल्पहरू हुनेछन् । परमाणु सम्झौतामार्फत इरानको परमाणु महŒवाकांक्षालाई सीमित पार्ने शर्तमा ऊमाथि लगाइएका प्रतिबन्ध खुकुलो पारिएको थियो । वासिङ्टन सम्झौताबाट पछि हटेपछि इरान–अमेरिका तनाव बढेको हो । सम्झौता अनुसार इरानले ३ देखि चार प्रतिशत घनत्व हुने लो इनरिच्ड युरेनियम मात्र उत्पादन गर्न पाउँथ्यो जुन आणविक ऊर्जा भट्टीमा मात्र प्रयोग गर्न पाइन्छ । त्यस्तो युरेनियम तीन सय किलो मात्र भण्डारण गर्न सम्झौताले अनुमति दिएको थियो । तर १ हजार ५० किलोसम्म त्यस्तो भण्डारण गरेर त्यसको घनत्व बढाउँदा एउटा बम बनाउन सकिने आम्र्स कन्ट्रोल एसोसिएसनको भनाइ छ । अमेरिकी प्रतिबन्धहरूका कारण इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ । इरानको मुद्राको मूल्य अहिलेसम्मकै सबैभन्दा कममा पुगेको छ र वार्षिक मुद्रास्फिति दर चारगुणा बढेको छ तथा वैदेशिक लगानी पनि अन्यत्रै गएको छ ।



















