काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी र सदस्यहरूलाई नियमावलीको मस्यौदा वितरण गरेको छ । आइतबार निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा वितरण गरेको हो ।
बैठकका एजेन्डामा संस्थापन पक्ष र इतरपक्षबीच कुरा नमिलेपछि निर्धारित समयमा बैठक हुन सकेन । पदाधिकारी बैठकमा सहमति भएपछि केन्द्रीय समिति बैठक भएको थियो । इतर पक्षले चौधौँ महाधिवेशन सम्बन्धी एजेन्डा हुनु पर्ने अडान लिएपछि पदाधिकारी बैठक लम्बिएको थियो । महाधिवेन पनि एजेन्डा पार्न संस्थापन पक्ष सहम भएपछि केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको समितिले तयार पारेको मस्यौदा अध्ययनका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई चार दिनको समयावधि दिएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति अर्को बैठक असार २७ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावली प्रस्तुत गर्नुभयो । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई वितरण गरी आज (आइतबार) को बैठक समापन भएको छ,’ उनले भने, ‘नियमावलीको अध्ययनपश्चात् असार २७ गते १ बजे बैठक पुनः बस्छ ।’
समिति संयोजक लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेपछि नियमावली अध्ययनका लागि वितरण गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए । त्यसअघि महामन्त्री पूर्णबहादुर खड्काले बैठकका एजेण्डा प्रस्तुत गरेका थिए । बैठक सुरुवात गर्दै सभापति शेरबहादुर देउवाले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका सबै केन्द्रीय प्रतिनिधिहरू, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्वलगायत पार्टी कार्यकर्ता र शुभचिन्तकहरूलाई बधाई एवं धन्यवाद ज्ञापन गरेका थिए ।
आगामी बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपपछि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बारेमा छलफल हुने पौडेलले बताएका छन् । उनका अनुसार उक्त बैठकमा पहिलो चरणको जागरण अभियानको एकीकृत प्रतिवेदन पनि प्रस्तुत हुनेछ । कांग्रेसले गत वैशाख २५ देखि जेठ २५ सम्म पहिलो चरणको जागरण अभियान सञ्चालन गरेको थियो ।
असार २७ गते बस्ने बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने एजेण्डा रहेको मुख्य सचिव पौडेलले बताए । महामन्त्री खड्काले प्रस्तुत गरेको एजेण्डाअनुसार सोही बैठकमा कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरूको प्रगति प्रतिवेदन पनि प्रस्तुत हुने कार्यतालिका छ ।
महामन्त्री खड्काले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघहरूका सम्बन्धमा र जनसम्पर्क समितिका सम्बन्धमा एजेण्डा प्रस्तुत गरेका थिए ।
यस्तै, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा, तनहुँमा अवैधरूपमा गठन भएको पार्टीको समानान्तर समिति र कार्यालयका सम्बन्धमा र देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा पनि एजेण्डा प्रस्तुत भएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली पारित गरेपछि विधानतह संरचना निर्माणको बाटो खुला हुनेछ । कांग्रेसको संशोधित विधानमा वडादेखि केन्द्रसम्म गरी आठवटा तह हुने व्यवस्था छ । तर, विधान पारित भएको पाँच महिना बित्न लागे पनि ७७ जिल्लामा मात्रै समिति छन् ।



















