इंग्ल्याण्डले रोक्यो भारतको अपराजित यात्रा

काठमाडौं । क्रिकेट विश्वकप–२०१९ को अपराजित टोली भारतको सातौं खेलमा आएर अपराजित यात्रा टुंग्गिएको छ । आयोजक इंग्ल्याण्डसँग आइतबार ३१ रनले पराजित भएसँगै भारतको अपराजित यात्रामात्रै टुंग्गिएन कि सेमिफाइनलमा पुग्ने सम्भावनासमेत पर सरेको छ ।

इंग्ल्याण्डलाई हराउन सके सेमिफाइनलमा प्रवेश गर्ने भारत पराजित भएसँगै अन्तिम चारमा प्रवेश गर्न अर्को खेल कुर्नुपर्ने भएको छ । भारतले अब बंगलादेश र श्रीलंकासँग खेल्दैछ । दुबैमध्ये एउटामात्रै जित हात पार्न सके भारत सेमिफाइनलमा पुग्नेछ ।

जित हात पारेपनि इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाउन सकेन् । उसले अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गरे सेमिफाइनलमा स्थान बनाउनेछ । इंग्ल्याण्डले अपराजित भारतलाई पराजित गरेसँगै इंग्ल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान बाँकी सेमिफाइनल होड खुला भएको हो ।

सेमिफाइनलमा पुग्न सबैभन्दा बढी दबाब इंग्ल्याण्ड र पाकिस्तानलाई छ । अन्तिम खेलमा यदि पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा इंग्ल्याण्डले अन्तिम खेलमा न्यूजिल्याण्डलाई हराउँनै पर्ने हुन्छ । न्यूजिल्याण्डसँग इंग्ल्याण्ड पराजित भएमा र पाकिस्तानले बंगलादेशसँग जित हात पारेमा आयोजक इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिनेछ ।

लगातार हारपछि पुनरागमन गर्ने क्रममा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गर्दै ३ सय ३७ रन जोडेको थियो । जवाफमा भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ६ रनमात्रै बनाउन सक्यो । भारतका लागि ओपनर रोहित शर्माले शतक तथा विराट कोहलीले अर्धशतक प्रहार गरेपनि टोलीको हार जोगाउन सकेनन् ।

रोहितले १ सय ९ बल खेल्दै १ सय २ रनको पारी खेलेका थिए । उनले १५ चौका प्रहार गरे । यो उनको वानडे करिअरको २५औं शतकसमेत हो । ओपनर रोहितलाई ३७ ओभरको पहिलो बलमा क्रिस वोक्सले जस बटलरबाट क्याच गराएका थिए ।

आठ रनमै केएल राहुलको पहिलो विकेट झरेपछि दोस्रो विकेटका लागि विराट कोहलीसँग मिलेर केएल रोहितले १ सय ३८ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । विराटलाई २९ ओभरको दोस्रो बलमा लियाम प्लन्केटले ६६ रनमा क्याच गराए । कोहलीले ७६ बलमा ७ चौका प्रहार गरे ।

दश ओभरमा १ सय २ रन आवश्यक हुँदा क्रिजमा रहेका महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याले आशा जगाए पनि जित दिलाउन सकेनन् । पाण्ड्या ४५ रनमा ४५औं ओभरमा पवेलियन फर्किए भने धोनी ४२ रनमा नटआउट रहे ।

त्यसअघि पहिलो खेल खेलेका ऋषभ पन्त ३२ रनमा आउट भएका थिए भने त्यस्तै केदार जाधव १२ रनमा नटआउट रहे । इंग्ल्याण्डका लागि लियाम प्लन्केटले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । क्रिस वोक्सले १० ओभरमा ३ मेडनसहित ५८ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । जोसन रोय र जोनी बेयरष्टोले पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका थिए ।

बेयरस्टो १ सय ११ रनको शतकीय पारी खेले । १ सय ९ बलमा उनले १० चौका र ६ छक्का प्रहार गरे । ९० बलमा शतक पूरा गरेका उनको वान डे करियरको यो ८औं शतकसमेत हो । अर्का ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे ।

कप्तान इओन मोर्गन १ रनमा आउट भए पनि जोए रुटले भने ५४ बलमा २ चौका सहित ४४ रनको पारी खेल्दै इनिङ सम्हालेका थिए । बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडेपछि इंग्ल्याण्डले विजयी लक्ष्य बनाएको हो । स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवले समान १–१ विकेट लिए ।