क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशमा विदेशी कामदारमाथिको निर्भरता घटाउँदै स्थानीय नागरिकहरूलाई रोजगारीमा प्राथमिकता दिने नीति सार्वजनिक गरेको छ। मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीका अनुसार, आगामी १३औँ मलेसिया योजनाको मार्गनिर्देशन अनुरूप विदेशी कामदारको कोटा प्रणाली र भर्ना प्रक्रियामा थप कडाइ गरिनेछ।
सरकारले उद्योगहरूको वास्तविक आवश्यकतालाई मूल्याङ्कन गरी मलेसियाली नागरिकहरूलाई नै पहिलो प्राथमिकतामा राख्ने रणनीति बनाएको छ, जस अन्तर्गत सन् २०३० सम्ममा कुल श्रम बजारमा विदेशी कामदारको हिस्सा १० प्रतिशतभन्दा कम गर्ने लक्ष्य राखिएको छ।
यो नयाँ नीतिले मलेसियालाई प्रमुख वैदेशिक रोजगारीको गन्तव्य बनाउँदै आएका विदेशी श्रमिकहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। मन्त्रालय र विभिन्न सरकारी निकायहरूको संयुक्त पहलमा कोटा संयन्त्रमा गरिने कडाइका कारण आगामी दिनमा वाहिरि देशबाट मलेसिया जाने कामदारको संख्यामा उल्लेख्य गिरावट आउन सक्नेछ।
यसले गर्दा विदेशी श्रमिकहरूका लागि रोजगारीका अवसरहरू खुम्चिने हुनाले वैदेशिक रोजगारीका लागि अन्य वैकल्पिक मुलुकहरू खोज्नुपर्ने र आन्तरिक रोजगारी सिर्जनामा जोड दिनुपर्ने चुनौती थपिएको छ।




















