प्रहरी र विप्लव समूहका कार्यकर्ता आमनेसामने

काठमाडौं । संखुवासभामा प्रहरी र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्गमा गस्तीमा गएको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्तालाई लक्षित गरी गोली चलाएको बताइएको छ । गस्तीमा रहेका प्रहरीलाई घेरा हाल्न खोजेपछि फायरिङ भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । यद्यपि दुवैतर्फ कुनै क्षति नभएको उनको भनाइ छ । ‘घटनास्थलमा फोन सम्पर्क हुन सकेको छैन । के भएको हो भन्ने अझै विस्तृतमा आउन सकेको छैन,’ प्रजिअ दुलालले हिमालय टाइम्ससँग सोमबार साँझ भने, ‘तर पनि कुनै दुःखद घटना घटेको छैन ।’ घटनापछि सोमबार सुरक्षा समिति बैठकसमेत बसेको छ । ‘बैठकमा के के भयो भनेर सबै भन्न सकिन्न तर अब के गर्ने, कसो गर्ने, तयारी के हुने ? भन्ने विषयमा छलफल भएको छ’, प्रजिअ दुलालले भने ।

सेनाका तीन हेलिकप्टर परिचालन

घटनापछि उक्त क्षेत्रमा नेपाली सेनाका तीनवटा हेलिकप्टर परिचालन गरिएको छ । दुईवटा काठमाडौंबाट गएको र एउटा हेलिकप्टर विराटनगरबाट गएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।  ‘गृह मन्त्रालयको आग्रहपछि नेपाली सेनाले हेलिकप्टर पठाएको हो तर सेना परिचालन गरिएको छैन,’ उनले भने, ‘सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली गएको हो ।’ 

सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली पठाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए । नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना प्रहरीको टोली पठाएको छ ।

विप्लव समूहका तीनजना बेपत्ता

यता, विप्लव समूहले भने आफ्ना तीनजना कार्यकर्ताहरू सम्पर्कविहीन भएको जनाएको छ । बेपत्ता भएका कार्यकर्ताको बारेमा विस्तृत विवरण भने उक्त समूहले दिएको छैन । प्रजिअ दुलालले विप्लव समूहका कार्यकर्ताको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘अफवाह फैलाउने तŒवहरूले यस्तो खबर सार्वजनिक गरेको हुनुपर्छ, त्यस्तो केही भएको छैन । यदि केही घटना भए मलाई जानकारी हुनुपर्ने हो,’ उनले भने । यसअघि, देशका विभिन्न स्थानबाट प्रहरीले सयौंका संख्यामा विप्लव समूहका कार्यकर्ताहरू पक्राउ गरिसकेको छ ।