फोहोर : सधैँको समस्या

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान निस्किन सकेको छैन, बल्झिरहन्छ । मुख्य समस्या हो फोहोर थन्क्याउने ठाउँ अर्थात् ल्याण्डफिल साइट । पाँच दिनपछि सोमबार फोहोर उठ्न थालेको छ । काठमाडौं उपत्यकाभरिको एउटै ल्याण्डफिल साइट छ नुवाकोटको सिसडोलमा, जो भरिइसकेको छ । विकल्पमा नजिकैको बञ्चरे डाँडो छनोट गरेर पूर्वाधार विकास सुरु गरिएको भए पनि तयार हुनसकेको छैन । कहिले तयार हुन्छ भन्ने पनि प्रष्ट छैन । त्यो पनि केही वर्षका लागि हो, स्थायी समाधान होइन । जबसम्म फोहोरको वैज्ञानिक व्यवस्थापन हुँदैन तबसम्म ल्याण्डफिल विधि अस्थायी नै हुनेछ ।

शहरी फोहोर व्यवस्थापन जहिले पनि जटिल नै हुन्छ । हामीले अहिलेसम्म अपनाएको विधि ल्याण्डफिल मात्रै हो । फोहोर सदुपयोग गरेर उत्पादनतिर नलागेसम्म दीर्घकालीन समाधान निस्किँदैन । फोहोर व्यवस्थापन न्युनतम आधारभूत आवश्यकता हो । हाम्रो काठमाडौंले यसतर्फ गम्भीरतापूर्वक सोच्नै सकेको छैन । ग्यास उत्पादन, मल उत्पादन, पुनःचक्रण इत्यादिमा व्यावसायिक स्तरमा काम गर्न सकेमात्रै फोहोरको दीर्घकालीन व्यवस्थापन हुन सक्छ । फोहोर आम्दानीको स्रोत हुन सक्छ । मेट्रो वा मोनो रेलभन्दा पहिला हुनुपर्ने काम हो फोहोरको दीर्घकालीन वैज्ञानिक व्यवस्थापन । फोहोरबाट उत्पादन गर्ने काममा निजी व्यवसायीले जति पनि राज्यले गर्न सकेको छैन ।

काठमाडौंमात्रै होइन देशका सबै ठूला शहरहरू फोहोर व्यवस्थापनमा कमजोर छन् । सबैलाई ल्याण्डफिल साइटको समस्या छ । कुनै पनि नगरले फोहोबाट उत्पादन गर्ने, दीर्घकालीन व्यवस्थापन गर्ने योजना अघि सारेका छैनन् । फोहोर व्यवस्थापनका लागि बजेटको पर्याप्त व्यवस्था छैन । संकलन गरेर ल्याण्डफिल साइटसम्म पु¥याउने पनि समुचित व्यवस्था छैन । राजधानी काठमाडौंमै सडकमा फोहोर फालिएको हुन्छ । कुनै कारणले एक दिनमात्रै उठेन भने दुर्गन्धित हुन्छ, शहर कुरूप हुन्छ । ठूला शहरका बासिन्दा यस्तैमा बानी परेर होला फोहोर व्यवस्थापनबारे मौन छन् । दीर्घकालीन समाधान खोज्ने फुर्सद राजनीतिक क्षेत्रले पाएकै छैन । 

हालसम्म फोहोर व्यवस्थापनको कुरा शहरबाट निस्कने कुहिने–नकुहिने ठोस फोहोरको मात्रै हो । उद्योगहरूबाट निस्केन रासायनिक फोहोर र घातक प्रदूषकको व्यवस्थापन चर्चामै छैन । शहरको सबै ढल खोलामा मिसाइएको छ र सबैजसो नगरको अवस्था उस्तै छ । शहर जति घना हुँदै जान्छ, फोहोर व्यवस्थापन उति नै जटिल हुँदै जान्छ । वैज्ञानिक, उत्पादनमूलक र दीर्घकालीन व्यवस्थापनका लागि योजनाबद्ध ढंगले काम नगरे देशैभर फोहोर व्यवस्थापनमा समस्या हुनेछ । संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले आआफ्नो स्तरबाट योजनाबद्ध ढंगले काम गर्न जरुरी छ । यति आधारभूत आवश्यकतामा राष्ट्रिय नीति उत्तिकै आवश्यक छ ।