काठमाडौं । मुख्य विपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कारण परिवर्तनपछिको संवैधानिक व्यवस्था खतरामा पर्न लागेको बताएका छन् ।
धान दिवसको अवसर पारेर आइतबार आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिटौलाले सरकारका क्रियाकलापका कारण जनतामा निराशा छाएको र व्यवस्था नै खतरामा पर्न लागेको बताए । उनले मुलुकको राजनीतिक परिस्थिति राम्रो नदेखिएको र आफूलाई परिवर्तनपछिको संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको आभास भइरहेको बताए ।
‘मैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन । के कारणले हो ठ्याक्कै भन्न सक्दिनँ । परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ,’ सिटौलाले भने ।
सरकारका कामकारबाही राजनीतिक व्यवस्थाको माध्यमबाट देशलाई प्रगति र आर्थिक उन्नति दिन सकिन्छ भन्ने खालका नदेखिएको टिप्पणी गर्दै उनले सरकारबाट जनताको मनोबल बढ्नेभन्दा पनि घटाउने खालका गतिविधि भइरहेको आरोप लगाए ।
दक्षिणपन्थी धार र उग्रवामपन्थी धारको सक्रियता दिनप्रतिदिन बढ्दै जाँदा राजनीतिक व्यवस्थाको भविष्यमै चिन्ता बढेको उनको भनाइ थियो । ‘चाहे राजा चाहिन्छ भन्ने नाममा होस् वा बन्दुकबाटै शक्ति हासिल गर्नुपर्छ भन्ने विप्लवको नामबाट होस्, दिनप्रतिदिन सक्रियता बढ्दै गएको छ,’ सिटौलाले भने, ‘यो चिन्ताको विषय हो । समयमै सरकारलाई सजग गराउनुपर्छ ।’
सरकार र प्रतिपक्षका आआफ्नै जिम्मेवारी रहे पनि मूलभूतरूपबाट व्यवस्था सुदृढ गर्न सबै एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । ‘पार्टी विशेष र सत्ताको निजी एजेण्डा संविधान होइन । यो राष्ट्रको साझा एजेण्डा हो । यसलाई बचाउन सबैको ध्यान जानुपर्छ, त्यो गएको देखिँदैन,’ सिटौलाले भने, ‘म सत्तारूढ दल र आफ्नै पार्टी कांग्रेसलाई पनि अहिलेको व्यवस्था र संविधान कार्यान्वयनबारे ध्यानाकर्षण गराउन चाहन्छु ।’
सिटौलाले प्रदेश सरकारका काम पनि असन्तुष्टि जनाए । उनले प्रदेश सरकाहरुका कामका कारणले जनताले संघीयता नरुचाएको र उनले संघीयता खारेजीको बाटोतर्फ जान लागेको जस्तो देखिएको बताए । सिटौलाले भने, ‘प्रदेश सरकारका कामकारबाही हेर्ने हो भने मानिसहरूले प्रदेश नै गल्ती रहेछ, नभए पनि हुन्थ्यो भन्न थालेका छन् । यसको अर्थ हो, संघीयता दिनप्रतिदिन कमजोर हुँदै गएको छ । खारेजीको बाटोतर्फ जान आँटेको छ, यो अर्को ठूलो चिन्ताको विषय बनेको छ ।’
सिटौलाले संघीय सरकार र प्रदेश सरकारलाई संघीयताको मूलमर्म र भावनाअनुसार चल्न सुझावसमेत दिए । उनले सरकारलाई संघीयता मजबुत बनाउने दिशामा अगाडि हिँडाउन कांग्रेसले संसद्मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘संघीय राज्यको मूलभावनाअनुसार नै केन्द्र सरकार र प्रदेश सरकारले काम गर्नुपर्छ । र, त्यो दबाब सिर्जना प्रतिपक्षले गर्नुपर्छ संसद्बाट र प्रदेशसभाबाट पनि,’ सिटौलाले भने । उनले कांग्रेसका प्रदेशसभाका सदस्यहरूले दह्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । कांग्रेसले प्रदेशमा सशक्त भूमिका निर्वाह गर्न नसक्दा सरकारले मनपरी ढंगले काम गरिराखेको सिटौलाको भनाइ थियो ।
‘प्रदेश सरकारलाई जनताको मनोबल गिराउने अधिकार छैन,’ सिटौलाले भने, ‘प्रदेश सरकारलाई संघीय सरकारले काम गर्न सकेन भन्ने लाग्छ भने त्यसका बारेमा जनतालाई बुझाउन सक्नुपर्छ । जनताको मनोबल गिराउने अधिकार उसलाई छैन ।’
जनताको मनोबल गिर्दै गएर उदासीन हुँदै गए व्यवस्था बलियो हुनै नसक्ने सिटौलाको भनाइ थियो । ‘यही व्यवस्थाको माध्यमबाट बनेका सरकारको क्रियाकलापबाट जनताको मनोबल गिर्ने अनि सरकार बलियो, व्यवस्था बलियो कसरी भइरहन्छ ?,’ सिटौलाले प्रश्न गरे । राज्य सञ्चालकको काम गर्ने र जिम्मेवारी बहन गर्ने क्षमता नहुँदा व्यवस्थामाथि निराशा बढेको उनको भनाइ थियो ।
सिटौलाले सरकारलाई आगामी दिनमा गल्ती नदोहो¥याउन सुझाव दिए । ‘म सरकारको ध्यानाकर्षण गराउँछु, कम्तीमा अब गल्ती नदोहो¥याउनुस् । यत्रो समय केही नगरीकन बित्यो, अब त्यसरी नबितोस्,’ उनले भने, ‘सरकारले आत्मसमीक्षा गरोस् र यो व्यवस्थाका सबै पक्षधरलाई साथमा लिएर राष्ट्रिय एजेण्डा बनाएर अघि बढोस् । अन्यथा व्यवस्थामाथि खतरा छ । सरकारको समयमै ध्यान पुगोस् ।’
सिटौलाले संघीयताको मर्मअनुसार काम गर्न प्रितिपक्षीको दबाब आवश्यक रहेको बताए । उनले सातवटै प्रदेशसभामा प्रतिपक्षीको रूपमा रहेको कांग्रेसले दह्रो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेका छैनन्,’ उनले भने, ‘यसमा प्रतिपक्षीका सांसदले पनि भूमिका खेल्न सकेनन् । केन्द्रको हस्तक्षेप छ भने आफ्नै पार्टीको सरकार भए पनि मुख्यमन्त्री बोल्नुप¥यो । नभए जनतामा निराशा ल्याउने अधिकार छैन ।’
केपी ओली नेतृत्वको सरकारको अहिलेसम्मको कार्याकाल सन्तोषजनक हुन नसकेको सिटौलाको टिप्पणी थियो । ‘बिहानीले दिनको संकेत गर्छ भनेजस्तै यो सरकारको सुरुवाती राम्रो भएन,’ उनले भने, ‘देश कमजोर भयो भने दुनियाँले खेल्ने मौका पाउँछ ।’ सिटौला शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान निर्माण प्रक्रियासम्मका एक सक्रिय नेता हुन् । उनी शान्ति प्रक्रियामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट सहयोगी थिए । संविधानसभाबाट संविधान निर्माणका क्रममा मस्यौदा लेखनको भूमिकामा पनि उनै थिए ।




















