काठमाडौं । उपत्यकाको फोहोर ६ दिनपछि सोमबारदेखि उठ्ने भएको छ । सिसडोल ल्याण्डफिल साइटका बासिन्दाले विभिन्न माग राख्दै फोहोर बोकेका गाडी सिसडोल जानबाट रोकेपछि पाँच दिनसम्म उपत्यकाको फोहोर उठ्न सकेको थिएन । आइतबार प्रभावित क्षेत्रका स्थानीय सरोकारवाला र काठमाडौं महानगरपालिकाबीच सहमति भएपछि उपत्यकाको फोहोर उठ्ने भएको हो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पीडित पक्षका मागहरू अध्ययन गरेर १५ दिनभित्र सिफारिस गर्ने गरी समिति भएको छ । फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष विकास डंगोल संयोजक रहेको १३ सदस्यीय समितिले १५ दिनभित्र उक्त क्षेत्रका समस्याहरूबारे महानगरपालिकालाई सिफारिस गर्ने सहमति भएको छ ।
डंगोलका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरको वातावरण विभागका प्रमुख, महानगरका कार्यकारी लगायतका पदाधिकारी र प्रभावित क्षेत्रका प्रतिनिधिबीच उक्त सहमति भएको हो । समस्याबारे १५ दिनभित्र समितिले प्रतिवेदन पेस गर्ने र महानगरले सक्ने समाधान महानगरले गर्ने र नसक्ने जति संघीय सरकारमा सिफरिस गरिनेछ ।
प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने लगायतका माग राख्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध गरेका थिए । शनिबार भने प्रहरी परिचालन गरेर ६० वटा गाडीको फोहोर फालेका थिए । त्यसक्रममा फोहोर बोकेर गएका गाडीलाई स्कर्टिङ गरेका प्रहरी र स्थानीयवासीबीच सामान्य झडप भएको थियो ।
काठमाडौं उपत्यकाबाट दैनिक करिब एक हजार टन फोहोर निस्कन्छ । वर्षौं बितिसक्दा पनि फाहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन सकेको छैन । काठमाडौं उपत्यकामा २० वर्ष अगाडि नगरपालिकासँग भएको सहमतिका आधारमा अहिले पनि निजी संस्थाहरूले फोहोर संकलनको काम गरिरहेका छन् ।




















