मनमा सजिएको एउटा कृति

पुस्तक विमोचन कार्यक्रममै जीवनका अनगन्ती पाटामा असफल भए तापनि इन्दिरा उपन्यास प्रकाशनपश्चात् आफू सफल भएको दाबी गरेका लेखक कमल पराजुलीको अभिव्यक्ति सुन्दा मनमनै लागेको थियो, ‘कस्तो लेखक होला अरूले सफल भन्नु त कता हो कता आफैँ सफल भन्ने ।’ प्रसंग हो केही दिनअघिको इन्दिरा उपन्यास विमोचन समारोहको । यस उपन्यासका लेखक हुन् कमल पराजुली जसले आफ्नो नामको पछाडि डिभोर्स उपमा झुण्ड्याएका छन् । 

अहिले उपन्यास लेख्ने लहर बढेको पनि पाइएको छ । यही लहरमा थपिन आइपुगेका छन् उपन्यासकार कमल पराजुली । उपन्यास प्रबन्ध विधा हो । यो आख्यानको शिलशिलेवार प्रस्तुुति हो । त्यसैले फटकर रचना लेख्न जस्तो सजिलो हँुदैन उपन्यास लेखन । तै पनि उपन्यास लेखनको लहर आउनु भनेको नेपाली लेखन परिपक्व हुनु हो । 

यसअघि मैले कमल पराजुलीलाई चिनेको थिइनँ । केही महिनाअघि मात्र फेसबुकमा जोडिएका उनीसँग मेरो खासै संवाद भएको थिएन । त्यस दिन इन्दिरा उपन्यास विमोचन भयो म सरासरी घर आइपुगेँ । पुस्तक पनि हातमै थियो । आएर पढ्न बसेँ एकै बसाइमा पूरै उपन्यास पनि सकियो । त्यसपछि अन्तरमनदेखि नै भन्न बाध्य भएँ कमल पराजुली उनकै शब्दमा भन्दा एउटा सफल उपन्यासकार हुन् । कमलको पहिलो उपन्यासै धेरै सशक्त छ । यो सिकारु लेखकको लेखन हो भन्न नमिल्ने खालको छ । लेखनमा देखिएको परिपक्वताले पुष्टि गर्दछ । 

इन्दिरा उपन्यास दुःखान्त वा वियोगान्त कथानक भएको उपन्यास हो । हुन त हाम्रोमा दुःखान्त र वियोगान्त एउटै अर्थमा बुझ्ने गरिएको छ तर पाश्चात्य मुलुकहरूमा दुःखान्त र वियोगान्तलाई भिन्न भिन्न दृष्टिले व्याख्या गर्ने गरिएको छ । उनीहरूका विचारमा विछोड वियोगान्त हो र मृत्यु दुखान्त हो । यो उपन्यासमा मृत्युको आधिक्य छ । त्यसैले यो दुखान्त बन्न पुगेको छ । 

यसमा दुखान्त भावमात्र पनि छैन । यसमा माया, प्रेम, खुशी, आशा अनि विश्वाससमेत छ यसमा । इन्दिरामार्फत कमलले वर्तमान नेपाली समाजको यथार्थ चित्रण गरेका छन् । जसमा प्रविधिका कुरा, समाजमा व्यप्त जातभातका कुरा, मानिसभित्र भएको स्वार्थ र कुण्ठाका कुरा छर्लंग देखाउन खोजिएको छ । यस्ता कुराले कोर्ने गरेका विभाजनका रेखा उपन्यासमा विवेचना भएका छन् । नेपाली समाजमा यस्ता समस्याहरू अझै छँदैछन् । तिनको केही चित्र यहाँ उतारिएका छन् । 

उपन्यास सलल बगेको छ । कथानक निरन्तर अगाडि बढ्नसक्नु उपन्यासको एउटा प्रमुख गुण हो । खण्डित नभएको कथानक चेतन प्रवाहमा प्रवाहित हुन्छ । पढ्दा पाठकले उपन्यासका पात्रहरूमा आफैंलाई अनुभूत गरिन्छ । पढ्दै जाँदा उपन्यासका पात्र कतै पनि काल्पनिक लाग्दैनन् । जति जति पढ्दै गयो उति उति यसको गहिराइमा डुबिन्छ । उपन्यासका पात्रहरूका पीडा आफ्नै जस्ता अनुभूत हुन्छन, त्यसमा पनि पात्रहरू यसरी फटाफट मर्छन् कि अब यो पात्रचाहिँ नमरोस् भनेर अन्तमा प्रार्थनै गर्नु प¥यो । इन्दिरा नाम गरेको खलपात्रलाई गुमाउनु पर्दा भने कमललाई त्यति धेरै वेदना हुँदैन । वास्तवमा खलपात्रको मृत्युले दुःखान्त भाव पैदा गर्दैन । 

पाठकले उपन्यासका पात्र आफैँ भएको अनुभूति गर्छन् । यो उपन्यास धेरै मानिसको वास्तविक जीवनसँग मेल खाने खालको छ । वास्तवमा इन्दिरा अनगिन्ती सपना बुनेर विदेशिएका युवापुस्ताको वास्तविक कथा हो । जसले देश छोडेर परदेशलाई अँगालेर एउटा सुनौलो भविष्यको परिकल्पना गरेका थिए ती तमाम परदेशिएका युवाहरूको कथा हो इन्दिरा । ती युवा जोे आफ्ना परिवार र सन्तानका सपना पूरा गर्न आफ्नो सबै श्रीसम्पत्ती बन्दकी राखेर विदेशिन्छन् र अन्तमा सपना चकनाचुर बनाएर फर्कन्छन्, इन्दिरा यस्तै युवाको प्रतिनिधि हो । वर्तमान नेपालको सबैभन्दा ठूलो समस्या भनेकै यही हो । यो समस्या उपन्यासमा चित्रण हुन पुगेको छ । 

उपन्यासमा आमाको छोराछोरीप्रतिको माया, ममता र कर्तव्य देखाइएको छ साथै नेपाली समाजमा महिलाले भोग्नुपरेका पीडाको नमिठो यथार्थ समेटिएको छ । सृष्टिले आफ्नो मुटुको टुक्रा सुमिनालाई साथी रमिताको जिम्मा लगाएर आफू अनेक पीडा सहन नसकेर आत्माहत्या गरेको र रमिता एउटा अविवाहित भएर पनि समाजमा विनाबाबुको सन्तानकी आमा बनेर उनले भोग्नु परेका पीडा र व्यथा उपन्यासमा छ । उपन्यासमा शब्दहरूको संयोजन राम्ररी गरिएको छ । शब्द संयोजन र भाव संप्रेषणबाटै उपन्यास राम्रो हुने हो । 

इन्दिरा उपन्यासका लेखकले कथाको शीर्षकमाथि भने न्याय गर्न सकेनन् । कथाले इन्दिरा मागेको छैन, सृष्टि मागेको छ । यस अर्थमा कथावस्तुअनुसारको उपयुक्त नाम चाहिँ इन्दिरा थिएन । इन्दिराको ठाउँँमा सृष्टि राखेको भए बढी उपयुक्त हुने थियो र सृष्टिमाथि न्याय हुने थियो । कमलकी पहिलो प्रेमिका पनि सृष्टि नै थिइन् । 

फेसबुक च्याटिङमा परेको माया र लामो समय देखिको त्याग र समर्पणको माया कुन चाहिँ बढी गहिरो होला ? बरु इन्दिराको भन्दा बढी भूमिका त रमिताकै थियो जसले आफ्नो साथीका लागि आफ्ना चाहना र इच्छाहरूको बलिदानी दिएकी छिन् । हुन त मानिसलाई आफ्ना सबै सन्तानको माया बराबरी लाग्छ । लेखकलाई पनि यहाँ यस्तै भएको हुनसक्छ । 

कमलको प्रेम पनि त्यस्तै होला उनले जो जोसँग प्रेम गरे, जे जस्तो हालत र परिस्थितमा माया गरे सबैको उत्तिकै भूमिका होला । नियतिको खेलले उनी सबैसँग विछोडिनु प¥यो । तर, कमलको पहिलो र चोखो प्रेमिका सृष्टि थिइन् । त्यसैले कतै कमलले आफेनो कृतिको मूलपात्रलाई उपन्यासमा ओझेलमा राखेका हुन् कि भन्ने पनि भान हुन्छ । पात्रले कथानक र कथानकले पात्रलाई बोक्न सक्यो भनेमात्र त्यसले सफलता पाउने हो । 

त्यसैले उपन्यास पढिसकेपछि अत्यमा कता कता नमज्जा पनि लागेर आउँछ । तीन÷तीनजना महिलासँगको मायामा असफल भएका कमलको जीवन अब कता मोडिएला भन्ने जिज्ञासा पाठकमा कौतुहलतापूर्वक रहिरहेका छन् । यसका लागि यो उपन्यासको दोस्रो भाग आउनु आवश्यक छ । हुन त उपन्यास धाराबायिक हुँदैन । तैपनि यस उपन्यासका अधुरा कथाको पूर्णताका लागि यहाँ यसो भनिएको हो । 

तीन÷तीनजना युवतीसँग प्रेम गर्दा पनि जीवन सफल हुन नसकेको कथा भएको यो उपन्यासको दोस्रो भाग लेख्न जरुरी देखिएको हो । उपन्यासले थोरै हँसाउँछ, थोरै रोमन्टिक बनाउँछ अनि त्योभन्दा धेरै रुवाउँछ । उपन्यास पाठकमा कौतुहलता जगाउँन सफल छ । कौतुहलताले नै पाठकलाई उपन्यास पढ्न जाग्रित गराउँछ । 

सम्बन्ध बचाउन विदेशिनु र दलालले फसाउनु, झुठा आरोपमा जेल सजाय भोग्नु र भौँतारिएर स्वदेश फर्कँदा आफ्नो मायाको संसारै ध्वस्त हुनु यी सबै घटना कमलका मात्र होइन विदेशिन बाध्य आमनेपाली युवाका समस्या हुन् । आम नेपालीयुवाहरूको नियति पनि हुन् जसलाई उपन्यासकारले यथार्थ ढंगले प्रस्तुत गरेका छन् ।

उपन्यासले चोखो प्रेमलाई लत्याएर धनको प्रलोभनमा फसेका र आफ्नी श्रीमतीलाई एचआइभी एड्स जस्तो प्राणघातक रोग सारेर मृत्युको मुखमा पु¥याएर चटक्क छाडेर जाने पात्रहरूको यथार्थ चित्रण पनि गरेको छ । सृष्टिका श्रीमान् जो अन्तिममा दयनीय अवस्थामा देखा पर्छन् र आफ्नै छोरीलाई पाउन मुद्दा मामिलासमेत गर्नुपर्छ । यी तिनै पात्र हुन् जो बुद्धि र विवेकमा भन्दा धनको घमण्डमा अडिएका थिए । अदालतले उनैको पक्षमा फैसला गरेको विषयले सबैले बलेकै आगो ताप्छन् भन्ने उखानलाई प्रमाणित गरेको छ । 

यो उपन्यास सामाजिक विषय वस्तुहरूमा आधारित भएकाले यो पक्कै पनि नेपाली जनमानसमा लोकप्रिय हुनेछ । उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । यसका साथै उपन्यास सरल भाषामा सबैले बुझ्नसक्ने गरी लेखिएको गरिएको छ । लेखकलाई शुभकामना ¤ आगामी दिनमा पनि लेखकबाट यस्तै उत्कृष्ट कृतिहरूको अपेक्षा गर्नु अन्यथा नहोला ।