तेहरान । इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाहने बताएका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ ।
‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन’ उनलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले जनाएका छन् । यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा इरान नरहेको उनको दाबी थियो । ‘हामी कसैसँग युद्ध चाहँदैनौं, हामी अमेरिकासँग पनि चाहँदैनौं,’ उनले भनेका छन् । उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेको फोनवार्तामा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार गरेका छन् । उनका अभिव्यक्तिबाट यी दुई देशबीच ठूलो तनाव थाहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जनाउछन् । इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ ।
आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ । इरानको यो भनाइ सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सिमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ । पछिल्लो समयमा अमेरिकी ट्यांकरमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहले अमेरिकी ट्यांकरमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि हवाई आक्रमणको अन्तिम तयारी भएको तर आक्रमण हुनुभन्दा १० मिनेट पहिला आफ्नो मन परिवर्तन भएर आक्रमण रोकेको बताएपछि यी दुई मुलुकको अवस्था कस्तो छ भन्ने संकेत भएको थियो । हवाई आक्रमणमा १५० जना इरानी नागरिक मारिने भन्दै आक्रमण रोकिएको अमेरिकी राष्ट्रपतिको भनाइ थियो ।



















