नयाँदिल्ली । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा गर्ने आफ्नो अडान फेरि दोहो¥याएका छन् । कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)की अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा बुधबार कंग्रेसका लोकसभा सांसदहरूको बैठक भयो ।
बैठकमा कंग्रेस अध्यक्ष गान्धी पनि सहभागी भए । बैठकमा पार्टीका ५१ सांसदहरू पार्टी अध्यक्ष राहुललाई राजीनामा फिर्ता लिन मनाउन असफल भए । राहुल गान्धीले पार्टी सांसदलाई आफू अब अध्यक्ष नरहने बताएका छन् ।
पार्टी अध्यक्षको विषयलाई लिएर पहिलोपटक राहुल गान्धीले सञ्चारमाध्यमसँग कुरा गरेका छन् । उनले भने, ‘आजको बैठकमा मैले आफ्नो अध्यक्ष पदलाई लिएर अडान स्पष्ट गरेको छु । म अध्यक्ष भइरहन चाहन्न ।’ बैठकमा कंग्रेस सांसद शशि थरुर र मनीष तिवारीले राहुल गान्धीलाई अध्यक्ष भइरहन भन्दै हारको जिम्मेवारी अध्यक्षको मात्र नभएको तर्क गरे । उनीहरूले हारको जिम्मेवारी सामुहिक भएको बताएका थिए । राहुलले फेरि हारको नैतिक जिम्मेवारी रहेको भन्दै अध्यक्ष त्याग गर्ने दोहो¥याए । बैठकमा सबै ५१ सांसदले राहुल गान्धीसँग अपील गरे । राहुलले उनीहरूको अपील अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यहीबीचमा कंग्रेस अध्यक्ष राहुल गान्धीको घरबाहिर युथ कंग्रेसका कार्यकताको भीड लागेको थियो । उनीहरूले राहुल गान्धीलाई राजीनामा फिर्ता लिन र अध्यक्ष भइरहन माग गरे ।
कंग्रेस कार्य समिति सदस्यहरूले पार्टीको खराब अवस्थामा राहुलले अध्यक्षका रूपमा मार्गदर्शन गर्नुपर्ने बताएका थिए । सो बैठकमा राहुलले अध्यक्षमा आफ्नो स्थानमा प्रियंका गान्धीलाई पनि प्रस्ताव नगर्न भनेका थिए । उनले कुनै गैरगान्धीलाई पार्टीको अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । तर कार्य समितिले राहुल गान्धीको प्रस्ताव अस्वीकृत गरिदियो । कंग्रेस प्रवक्ता रणदीप सुरजेवालाका अनुसार राहुल गान्धीलाई आफ्नो सुविधाअनुसार पार्टीको संगठनमा परिवर्तन गर्न अधिकार दिइएको बताए ।



















