असफल को हुँदैछ ?

बहुदलीय समाजवादी शासनले समाजलाई सम्बोधन गर्न सकेन र फेल भयो । समाजवाद बोकेको नेपाली कांग्रेसले राजाको हातमा लगेर शासन सुम्पियो । शाही शासन निरंकुश भयो भनेर जनवादी र समाजवादी मिलेर झुकाए । मरेको संसद ब्युँताइदियो राजतन्त्रले । राजाबाट शपथ खाएको समाजवादी कांग्रेसी सरकारले राजतन्त्र फालेर जनवादीको हातमा सत्ता सुम्पियो । राजा नागार्जुनबासतिर लागे, आठ राजनीतिक दलहरू फेरि आलोपालो शासनसत्तामा रमाउन थालेको आज १३ वर्ष भयो ।

बहुदलको १२ वर्षलाई कुशासन भनियो, कारण थियो समाजवादीले गर्नै नहुने काम ग¥यो भन्ने । कुशासन र भ्रष्टाचार, अनियमितता र अनैतिकता कांग्रेसी शासनको हात्तीपाइले रोग बन्यो । हिँड्नै नसक्ने भएपछि राजालाई शासन बुझाउन बाध्य भएको थियो । २०४६ सालअघि बिपी र २०४६ सालपछि कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक कुनै नेताको नाम आदरपूर्वक जनताले लिँदैनन्, किन ? किनभने त्यो समयमा प्रधानमन्त्री भएका शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला सबका सब भ्रष्टाचारका कारण बदनाम हुनपुगे, तिनले राम्रो कामको एउटा दृष्टान्त दिन सकेनन्, धरहरा उभ्याउनु त परको कुरो ।

२०६३ सालमा संसद ब्युँताएपछि २०६५ सालमा राजतन्त्र सिध्याउने खेलोमा सबै एक भए । कम्युनिष्टको हातमा शासन पुगेपछि यो १३ वर्षमा १० सरकार बन्यो । दशमा वटामा पनि प्रचण्ड र ओली दुई दुई पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एक–एक पटक, प्रचण्डको सिफारिसमा खिलराज रेग्मी एकपटक र आलोपालो मिलाएर सुशील र देउवा एक–एक पटक प्रधानमन्त्री बने ।

जसरी पञ्चायतको जिम्मेवारी कुनै पञ्चले लिएनन् र विषको प्याला पिउन राजा वीरेन्द्र बाध्य भएका थिए, त्यसैगरी शाही शासनको १४ महिनामा जस जसले राज्यसत्तालाई उखु बनाएर चुसे, तिनले पनि कुनै जिम्मेवारी नलिँदा राजा ज्ञानेन्द्रले नीलकण्ठ भएर अर्धचेत अवस्थामा बाँच्नु परेको छ ।

जसले इमान त्याग गर्छ, उसलाई धोकेवाज भनिन्छ । ०४६, ०६३ र ०६५ को परिवर्तनमा जसजसले राज्यलाई धोका दिए, ती धोकेवाज हुन् । जो नयाँ नेपाल बनाउँछौँ भनेर जनतालाई आश्वस्त पारेर सत्तामा पुगेका थिए, तिनले जनतालाई धोका दिइरहेकै छन् । ती सबै धोकेवाज हुन् ।

लोकतन्त्रले नेपाललाई उज्यालो बनाउने छ, लोकशासन आउनेछ भन्ने नेताहरू समाजवादी हुन् कि जनवादी, ती सबै असफल भएका छन्, ती सबै धोकेवाज भएका छन् । यो धोकेवाजहरूको शासनकालमा सबैभन्दा ठूलो धाकेवाज कम्युनिष्ट हुन्, जसले सर्वहाराको राज्यसत्ता आउँछ भनेर जनक्रान्ति गरे र सत्ताका लागि त्यो जनक्रान्तिलाई दिल्लीको १२ बुँदे सम्झौतामा बिसाएर सत्तासीन हुनपुगे, ०६५ सालपछि आठ पटक कम्युनिष्टको शासन चलिसक्दा पनि जनताले राहत, सन्तोष र शान्तिको सास फेर्न पाएनन्, यो धोका नभए के हो ?

आइन्सटाइनको एउटा किस्सा छ । आइन्सटाइन वैज्ञानिक बनेपछि उनको ठूलो चर्चा भयो । एकदिन एउटा विद्यार्थीले सोध्यो– आज सारा संसार तपाईंको प्रशंसा गर्छ, सबैले आइन्सटाइन महान् भन्छन्, चर्चा पाउने र महान बन्ने मन्त्र चाहिँ के हो ?

आइन्सटाइनले जवाफ दिए– बाबु, ठूलो कुरो लगन हो । मलाई हिसाब आउँदैनथ्यो । परीक्षामा फेल हुन्थेँ, सबै गिज्याउँथे । मैले मनमनै विचार गरेँ, ममा के कमी छ ? म हिसाब पढ्न सक्छु भनेर बारम्बार प्रयास गरेँ । आखिर मैले विज्ञानमा सफलता हासिल गरेँ । लगन सफलताको सबैभन्दा ठूलो मन्त्र हो । तिमीहरूले लगन नछाड्नू ।

२०६३ सालको जनआन्दोलनमा नेपालीको आँखाका तारा बनेका थिए यिनै नेताहरू । प्रचण्ड त विश्व समाचारको प्रमुख बनेका थिए । उनीहरूलाई विदेशीले धाप मारेका भए पनि उनीहरू सत्ताप्राप्तिको आन्दोलनमा यति लगनशील थिए कि अरू अड्डी लिँदा धेरै मानिस मर्छन् भनेर राजा ज्ञानेन्द्र झुके, संसद पुनस्र्थापना गरिदिए । अन्तमा यही पुनस्र्थापित संसद राजतन्त्रको अन्त्यको साधन सावित हुनपुग्यो ।

बन्दुकको नालबाट सत्ता त निस्कियो, सत्तासँगै सुख र शान्ति, समृद्धि र सन्तोष निस्केन । निस्कियो सिण्डिकेट, निस्कियो आलोपालो सरकार । एकथान संविधान जारी गर्न आठ वर्ष कुर्नुप¥यो, त्यो पनि फास्ट ट्र्याकबाट अर्थात् सर्जरी गरेर संविधान जन्माउनु प¥यो । संविधानअनुसार भएको चुनाव र गठन भएका स्थानीय, प्रदेश र संघीय सरकार भालुको कन्पट बन्न पुगेको छ । छाडे आफैँलाई मार्ला भन्ने पिर, समात्नु कतिञ्जेल कुर्ने ?

सिंहदरबार गाउँसम्म त पुग्यो, राष्ट्रपति र प्रधानमन्त्रीले लिने सलामी, गाउँतहसम्मका सरकार प्रमुखहरूले पिर्का र मेचमा चढेर लिन थाले । गोलीले पेट छताछुल्ल भएकाले चुनदाम राहत पाएनन्, प्रधानमन्त्रीका गाउँले मेयरले घरको सिसा फुट्यो भनेर ३० लाख लिएछन् । नीतिकार र सेवादायक बन्नुपर्ने सांसददेखि स्थानीय तहसम्मका नेताहरू ठेकेदार बनेका छन् ।

लोकतन्त्र कति आए गुलेली खेलाए गए भनेजस्तो भएको छ । जता पनि पार्टी, कार्यकर्ता, भ्रष्टाचारमात्र देखिने र लोक नदेखिने, व्यक्ति देखिने विवेक नदेखिने यो लोकतन्त्र हो कि काञ्जी हाउस ¤ प्रश्न के छ भने जनआन्दोलनले राज्यको खुशियाली, अर्थतन्त्रको परिवर्तन खोजेको थियो कि यस्तै लथालिंग ? सांस्कृतिक, सामाजिक सबलीकरणसहितको रूपान्तरण हुने लक्ष्य खोजेको थियो कि यस्तै विभेदको पराकाष्ठा ? नीति र विधिले चल्नुपर्छ भन्ने थियो कि आदेश र निर्देशनले ? शासन, प्रशासनदेखि अदालतसम्म निर्मलीकरण चाहिन्छ भनेको थियो कि राजनीतिकरण ?

आज स्थिति यस्तो छ कि नागरिक समस्या चर्किएर चिच्याउँछ पार्टी र सरकार समाधान दिन सक्दैनन् । किन यस्तो अन्याय भनेर नागरिकहरू सडकमा उफ्रन्छन्, नागरिकप्रति कोही जवाफदेही लिएर उत्तर दिँदैनन् । जनअपेक्षा र अकाङ्क्षाको एजेण्डा पार्टीले बोक्ने र सरकारले हलुङ्गो पारिदिनुपर्ने हो, नेताहरू जनताको समस्यामा राजनीति गर्छन् र राजनीतिक पसल चलाइरहेका छन् । नीतिगतदेखि ठाडो भ्रष्टाचारको मुहान नेता हुन्, सरकारमा बस्नेहरू हुन् । बन्दुकको नालबाट गणतन्त्र त निस्क्यो, पेण्डोराको बाकस बनेर निस्क्यो र आज पेण्डोराको बाकसबाट नाना भाँतीका विषालु भाइरसहरू निस्केर नेपाल र नेपालीको अस्तित्व डसिरहेका छन् । नेता असफल भए, नेताले लोकतन्त्र असफल पारे । अब पनि लोकतन्त्र बाँकी छ र ?

हामी लोकतान्त्रिक हौँ भन्ने जति पार्टी र नेता छन् तिनले दिने के ? तेह्र वर्ष साक्षी छ, भूकम्पदेखि बाढीपहिरोसम्मका विपदमा छन् सर्वसाधारण । गरीब जनताको भागसमेत नछाड्ने परिवर्तनकारीहरू वास्तवमा जनताप्रति जिम्मेवारै छैनन् । राष्ट्रनिर्माता नमान्ने, विदेशी नेतालाई आदर्श ठान्नेहरूको आदर्शमै संशय छ । परिवर्तनको केन्द्रमा जनता भएका भए, शासनको केन्द्रमा लोककल्याण रहेको भए, भ्रष्टाचारको महामारी यसरी चम्किने नै थिएन । नेताहरूका लागि लोकतन्त्र बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यापार बनेको छ । यही व्यापारबाट जनता टाक्सिदै गएका छन्, नेताहरू नवसामन्त बनिसके ।

छेपारोको कथा र नेताको भाषण उस्तै हो । लोकतन्त्र बम्बईका लड्डु बनेको छ, खाया भी पछताया, नही खाया भी पछताया । 

के भएन यो देशमा ? एनसेललाई राज्यकर छुट दिनेदेखि बिग हाउसलाई कर छुट दिने, नक्कली भ्याटका मुद्दा लुकाउनेसम्मका खेल भइरहेका छन् । जाबो दुई थान वाइडबडी जहाज किन्दा साढे चार अर्ब भागशान्ति जय नेपाल भएछ । फोर जी होस् कि सुनकाण्ड, बलात्कार हत्या होस् कि नागरिकता प्रकरण, गुठी, मिडिया काउन्सिल, चिकित्सा शिक्षा विधेयक हुन् कि ठेकेदार काण्ड जता पनि राजनीतिक र प्रशासन मिलेर खाने दाउमात्र । लोकतन्त्रलाई लुटतन्त्र बनाइसकेपछि कसरी लोकतन्त्र जीवित हुनसक्छ ?

शासितमाथि शासकहरूको यो सब अत्याचार सचेत वर्ग, नागरिक समाजका अगुवा, बुद्धिजीवी, विचारकहरू यसरी हेरेर बसेका छन् कि मानौँ उनीहरू दुर्योधन, दुशासनले द्रौपदीको चीर हरण गर्दा धृतराष्ट्रको नुन खाएकाले भीष्म, द्रोणाचार्य, कृपाचार्य, विदुर बोल्न नसकेजस्तै हो ।

यिनले पहिले आफूले बोलेको, आफ्ना घोषणापत्र पढ्नु बेश हुन्छ । जो आफ्नै नजरमा गिरेको छ, त्यस्ताले जनस्तर उठाउने ? यस्ता धाकेवाजले राष्ट्रियताको कुरा गर्नु, सुशासन फलाक्नु, लोकतन्त्र जिन्दावाद भन्नुको अर्थ बाँकी छैन । यसकारण सवाल उठेको हो– लोकतन्त्र असफल भइसक्यो । यो असफलता लोकनेताको हो कि लोकतन्त्रको ?