एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली सेमिफाइनल पुग्ने लगभग पक्का भइसकेको छ । अन्य टोलीहरुले राम्रो खेलेपनि नतिजा त्यति सुखद् हुन सकेको छैन । अफगानिस्तान र दक्षिण अफ्रिकाको लागि भने यो विश्वकप खराब नै रह्यो ।
गएराती भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्ड हराएपछि सेमिफाइनल पुग्ने चौथो टोलीको लागि इंग्ल्याण्ड बाहेक पाकिस्तान, श्रीलंका, बंगलादेश र वेष्ट इन्डीजको पनि बाटो खुलेको छ । अन्य टोलीको भन्दा इंग्ल्याण्डको सम्भावना बढि भएपनि पाकिस्तानको सम्भावना पनि उत्तिकै रहेको विश्लेषण गरिएको छ ।
पछिल्लो समय पाकिस्तानले सन् १९९२ मा विश्वकप जित्दाको जस्तै अवस्था रहेकोले यो विश्वकप नै पाकिस्तानले जित्ने चर्चा चलिरहेको छ । सेमिफाइनल पुग्न संघर्षरत पाकिस्तानको यो संयोग वास्तवमै रोचक रहेको छ ।
प्रतियोगिताको स्वरुप
सन् १९९२ को विश्वकप अहिलेको विश्वकपको लिग चरणको खेलहरु राउन्ड रोबिन लिगको आधारमै खेलाइएको छ । त्यसबीचमा यस्तो नभएपनि विश्वकपको इतिहासमा २७ वर्षपछि राउन्ड रोबिन लिगको आधारमा विश्वकप खेलाइएको छ ।
एउटै फरक भनेको त्यतिबेला ९ टोलीले विश्वकप खेलेका थिए भने अहिले १० टोली भिडिरहेका छन् ।
नयाँ बलको कुरा
सन् १९९२ को विश्वकपमा पनि अहिलेको जस्तै दुबै इन्डबाट दुईवटा नयाँ बलले खेल्ने नियम रहेको थियो । उक्त नियम त्यसयता हटेपनि पछिल्लो समय आईसीसीले यो नियम फेरी ब्यूँताएको छ ।
नतिजाको संयोग
अन्य कुरा मिल्नु भन्दा पनि पाकिस्तानले यो विश्वकपमा निकालेको नतिजा र सन् १९९२ को शुरुवाती ६ खेलको नतिजा उस्तै रहेको छ ।
त्यो विश्वकपमा जस्तै अहिले पनि पाकिस्तानले पहिलो खेल हारेको छ भने दोस्रो खेल जितेको छ । त्यस्तै अद्भुद संयोग पर्दै तेस्रो खेल यी दुबै विश्वकप वर्षाले रद्द गरेको छ ।
दुबै विश्वकपको चौथो र पाँचौ खेल पाकिस्तानले हारेको थियो भने छैठौंमा जीत हात पारेको छ ।
आज हुने पाकिस्तान र न्यूजिल्याण्डबीचको खेलमा पाकिस्तान विजयी भएमा यो संयोग सातौं खेलसम्म उस्तै रहने छ ।

अन्य समानता
सन् १९९२ को विश्वकप र अहिलेकोमा अन्य समानताहरु पनि निस्कीने क्रममा रहेको छ । उक्त विश्वकपमा पाकिस्तानका इन्जमाम उल हक उदीयमान खेलाडी बनेका थिए । अहिलेको विश्वकपमा भने तिनै इन्जमामका भतिज इमाम उल हक सोही सफलताको लागि भिडिरहेका छन् ।
सन् १९९२ को विश्वकपमा पाकिस्तानले खेलको छैठौं खेलमा आमीर शोहेल नामका खेलाडी प्लेयर अफ दि म्याच घोषित भएका थिए भने यस विश्वकपको छैठौं खेलमा हरिस शोहेल प्लेयर अफ द म्याच बनेका छन् ।
सन् १९९२ अघिको दुई अर्थात् १९८३ र १९८७ विश्वकप क्रमशः भारत र अष्ट्रेलियाले जितेको थियो भने यस संस्करणको विश्वकप अघिको दुई संस्करण अर्थात् सन् २०११ र २०१५ को विश्वकप पनि क्रमशः भारत र अष्ट्रेलियाले नै जितेको थिए ।
अन्य संयोग
सन् १९९२ को विश्वकप चलिरहँदा पाकिस्तानका दिवंगत प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् आसिफ अली जर्दारी जेलमा थिए । भुट्टोको निधन पश्चात राष्ट्रपति समेत बनेका जर्दारी पुनः जेलमै छन् ।
सन् १९९२ मा ‘अल्लादीन’ नामक एनिमेटेड फिल्म रिलिज भएको थियो । हालसालै उक्त फिल्मको नयाँ संस्करण ‘अल्लादीन रिबुट’ पनि रिलिज भएको छ ।
अजहर महमुदको भनाइ
समर्थकहरुले सन् १९९२ र अहिलेको स्थितिलाई तुलना गरेपनि पाकिस्तानका बलिङ कोच भने पाकिस्तानको अहिलेको अवस्था सन् १९९२ को विश्वकप भन्दा पनि सन् १९९९ विश्वकप जितेको अष्ट्रेलिया जस्तो रहेको छ ।
त्यस विश्वकपमा अष्ट्रेलिया पनि पाकिस्तान जस्तै खेल हार्दा बाहिरिने अवस्थामा थियो । दक्षिण अफ्रिकाका खेलाडी हर्सल गिब्सले स्टीभ वा को क्याच छोड्ने संयोग सहित भाग्यले साथ दिँदा अष्ट्रेलियाले उक्त विश्वकपको उपाधि नै जितेको थियो ।
यी दुईथरी तर्कको अन्त्य पाकिस्तानको विश्वकपको विजयमै टुंगिएको छ । आज हुने खेलबाट पनि यी तर्कमा कत्तिको बल रहेको पुष्टी हुने विश्लेषकहरु बताइरहेका छन् ।




















