सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएकाछन् ।
संसद्मा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुवै कोरियाका नेताहरूबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट गरे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुनसक्ने बताएका थिए ।
राष्ट्रपति ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेका हुन् । उनको कोरियाको औपचारिक भ्रमणका लागि यही शनिबार सियोल पुग्नेछन् । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने ब्लु हाउसले जनाएको छ ।
दुई नेताबीचको भेटका क्रममा अमेरिका र दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा छलफल हुने बताइएको छ । मुन र ट्रम्पबीच तीन महिनाभन्दा कम समयमा पुनः भेटवार्ता हुन लागेको हो । यसअघि गत अप्रिलमा यी दुई नेताबीच वासिंटनमा भेटवार्ता भएको थियो ।
ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सियोलको भ्रमण गरेका थिए । दक्षिण कोरिया भ्रमण गर्नुअघि जापानको ओशाकामा हुने जी २० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागिता जनाउनेछन् । जी २० सम्मेलनपछि राष्ट्रपति ट्रम्प सोझै दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणा मान्न सियोल पुग्नेछन् ।



















