स्मार्ट पार्किङ नियमित

काठमाडौं । राजधानी काठमाडौंको न्युरोडका दुई स्थानमा स्मार्ट पार्किङ सुरु भएको छ । धर्मपथ र विशालबजार अगाडिको भागमा स्मार्ट पार्किङ सेवा सुरु भएको हो ।  काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा सुरु गरे । महानगरले हृवील्स ट्युली योर्अस् प्रालिसँगको सहकार्यका यो सेवा सुरु गरेको हो । महानगरले ५ स्थानमा स्मार्ट पार्किङ सेवा सञ्चालन गर्ने जनाइएको छ । सरोकारवालासँग लामो छलफल गरेर सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको नगर प्रमुख शाक्यले बताए । यो सेवालाई विस्तार गर्दै जाने पनि उनले बताए । उनले भने, ‘न्युरोडभित्र पार्किङ पहिला नै थियो । त्यसलाई व्यवस्थित बनाउन मात्र खेजेको हो ।’ पाँच ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा आएपछि एकपटकमा करिब ८ सयवटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ ।

ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट सञ्चालन हुनेछ । नयाँ सडक जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यसठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगीले सवारी चालकलाई सहयोग गर्नेछन् । उक्त क्यामराले आवाजसहित रेकर्ड गरेर राख्नसक्ने व्यवस्था गरिएको छ । पार्किङ दुई पांगे्रका लागि प्रतिघण्टा २५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ८० रुपैयाँ शुल्क लाग्छ । संकलन गरिएको रकमसम्बन्धी रेकर्ड सिधै महानगरको प्रणालीमा जान्छ । यसबाट राजस्व छली गर्ने सम्भावना नहुने महानगरको भनाइ छ । यो प्रणालीबाट पार्किङ बुकिङ गर्न पार्क केटिएम मोबाइल एप्लिकेसन बनाइएको छ ।