गुठी विधेयक विवाद : कांग्रेसले उक्साएको सत्तापक्षको आरोप

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले गुठी विधेयकविरुद्ध आन्दोलनरतलाई ‘भाडाका मान्छे’ को संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद चौधरीले गुठी विधेयकविरुद्ध प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्न उक्साएको आरोपसमेत लगाइन्् । 

‘मण्डला घेर्न आइरहेका छन्, तिनीहरू भाडाका मान्छेको कुरामा लागेर गुठी विधेयक फिर्ता गर्दै उत्पीडनमा परेका गरिबहरूको पेटमा लात हान्ने कोसिस नगरियोस्,’ उनले भनिन् । चौधरीले स्वर्गद्वारीको नाममा गरिबको जग्गा हडपिएको आरोप लगाइन् । ‘एक हजार ५० बिघा जग्गा संन्यासीले जोड्न सक्दैनन् । २०२८ सालमा आफ्नो गराइएको हो,’ उनले भनिन् ।

त्यसअघि विशेष समयमा बोल्दै सांसद चौधरीले समाजमा रहेको पुरानो संस्था, संरचना राख्ने, पुरानो न्यायिक प्रक्रियालाई कायम राख्ने हो भने गणतन्त्र किन चाहियो भन्दै प्रश्न गरेकी थिइन् । ‘राजतन्त्र भइहाल्थ्यो, आज पनि सामन्तवाद चाहिएको हो ? उसो भए नयाँ संविधान किन चाहियो ? राजा र राणाका हुकुमी शासन भए भइहाल्थ्यो नि ! वा बाइसे, चौबीसे राज्य अहिलेको आवश्यकता हो ?’ उनले एकपछि अर्को प्रश्न गरिन् । 

समावेशी लोकतान्त्रिक गणतन्त्र, समावेशी नेपाल र अहिलेको आवश्यकताअनुरूप गुठी विधेयक संसद्मा पेस भएको भन्दै उनले त्यसलाई तुहाउन विरोध भइरहेको ठोकुवा गरिन् । उनले भनिन्, ‘काठमाडौंको गुठी र दाङको गुठी फरक छ । खेत कसको जोत्नेको, घर कसको पोत्नेको भन्ने बीपीको नारालाई दुईतिहाईको सरकारले अंगीकार गरेको छ । गरिबको आँसु पुछ्ने काम गरेको छ ।’ 

नेकपाकै अर्की सांसद शान्ता चौधरीले गुठी विधेयकले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गरिन् । उनले गुठी विधेयकविरुद्ध प्रतिपक्षीको आन्दोलन आश्चर्यजनक भएको टिप्पणी गरिन् । कांग्रेस सरकारमा हुँदा गुठीसम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक नै ल्याएको उनले बताइन् ।

तर, प्रतिनिधिसभा भंग भएकाले पास हुन नपाएको उनको भनाइ थियो । चौधरीले दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय परिवारले जोतभोग गर्दै आएको र कूत बुझाउने मोहीको हालत अहिले पनि दयनीय रहेको बताइन् ।

बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रश्न गरिन्, ‘हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?’

नेकपाकै सांसद विरोध खतिवडाले गुठी विधेयकमा उत्पन्न समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराए । गुठी विधेयकलाई लिएर गुठियार र सरकारबीचको दूरी फराकिलो बन्दै गएकाले सभामुखले वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा उपत्यकाको निर्णायक भूमिका रहेको भन्दै सरकार र आन्दोलकारीबीच वार्ता गर्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरे । 

अहिले सरकार र गुठियारको बीचमा ३६ को आँकडा रहेको उनको भनाइ छ । कुरा बुझिएन भनेर दुईवटैले गाना चाहिँ एउटै गाइरहेको उनले बताए । सरकार गालमा हाल लगाएर ‘बुझ्नेले कुरा नबुझेपछि मनमा पीर नलिएपछि’ भन्ने गीत गाइरेको र गुठियारहरू ‘बुझ्नेले कुरा नबुझेपछि मनमा पीर नलिएपछि, मसाल त समात्नै प¥यो, जुलुसमा हिँड्नैप¥यो’ सांसद खतिवडाले बताए । 

विपक्षी कांग्रेसका गगन थापाले सरकारले ल्याएको गुठी विधेयकले गुठी आबद्ध किसानको समस्या सम्बोधन गर्नै नसक्ने ठोकुवा गरे । ‘बुटवलको सुकुम्बासीले बालुवाटारमा जग्गा पाऊलान्, किसानले केही पनि पाउनेवाला छैनन्,’ उनले कटाक्ष गरे । 

थापाले नेपाली अर्थव्यवस्था ‘यार’ पुँजीवादी व्यवस्था भएको उल्लेख गर्दै आफ्नो ‘यार’ पोस्नका लागि सरकारले विधेयक ल्याएको टिप्पणी गरे । काठमाडौं र बाहिरका गुठी सम्बद्धहरूको फरक–फरक सन्दर्भ रहेको उनको भनाइ थियो । किसानका समस्याका बारेमा थप छलफल गर्न आवश्यक रहेको भन्दै थापाले गुठीका विषयमा जनता भिडाउने काम नगर्न सरकारलाई सचेत गराए । 

गुठी विधेयकलाई थप छलफलको आवश्यकता रहेको भन्दै उनले भूमि व्यवस्थामन्त्रीलाई विधेयक फिर्ता लिन सुझाव दिए । थापाले भने, ‘विधेयक फिर्ता गर्नुस् । तपार्इंको नाक कहीँ जाँदैन । सञ्चारमन्त्रीले जस्तै हेयको दृष्टिकोणले गुठियारलाई बुझे मुठभेडतिर लैजान्छ ।’